लोड हुँदैछ...

मेनु

भारतीय तस्कर पक्राउ पर्दा मन्जित भेडियारीको पोखरीमा कसरी भए बेपत्ता ?

भारतीय तस्कर पक्राउ पर्दा मन्जित भेडियारीको पोखरीमा कसरी भए बेपत्ता ?

विराटनगर । २३ असार (मंगलबार) राती मोरङको जहदा गाउँपालिका–१ बुधनगरस्थित १४ वर्षीय मन्जित यादवले हतार–हतार खाना खाए । उनले आमा रन्जुदेवीलाई भनेका थिए – ‘म एकैछिनमा आइहाल्छु नि !’

आमाका लागि त्यो शब्द सामान्य थियो । छोरा बाहिर निस्कनु र केहीबेरमा फर्किनु उनको दैनिकी नै थियो । तर, मन्जितले बोलेको त्यो ‘एकैछिन’ यतिबेला उनको परिवारका लागि प्रतीक्षाको घडी बनेको छ । घरबाट निस्किएका मन्जित बुधबार बिहानदेखि विराटनगर–१८ भेडियारीस्थित पोखरीको धमिलो पानीमा बेपत्ता छन् । आमा रन्जुदेवी यतिबेला छोराको बाटो हेर्दाहेर्दै अस्पतालको बेडमा अचेत छिन् ।
मन्जित दुई दिदीबहिनीका एक्ला भाइ हुन् । उनी कक्षा ६ मा अध्ययरत थिए । बुधबार बिहान ८ बजेको एउटा घटनाले सबैथोक उथलपुथल पारिदियो । मन्जितकी बहिनी सविताका अनुसार मन्जित मंगलबार राति घरमा मोटरसाइकल लिएर आएका थिए । खाना खाएर निस्किएका उनी राति घर फर्किएनन् । ‘‘दाजु राति घरमा मोटरसाइकल लिएर आउनुभएको थियो । खाना खाएपछि आइहाल्छु भनेर निस्किनुभयो, तर रातभरि आउनुभएन,’ सविताले आँसु पुछ्दै भनिन्, ‘‘बिहान पोखरीतिर भाग्दा दाजु बेपत्ता भएको खबर आयो । त्यो सुनेपछि आमा मुर्छा पर्नुभयो । अहिले अस्पतालमा हुनुहुन्छ ।’’

मन्जित कसरी त्यो पोखरीसम्म पुगे ? उनी किन भाग्नुपर्यो ? यी प्रश्नहरूको वरिपरि अहिले विराटनगरको भेडियारी क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रहरीको दाबी र स्थानीयको संशय
प्रहरी र स्थानीय बासिन्दाबीच यो घटनालाई हेर्ने दृष्टिकोण फरक छ । स्थानीयका अनुसार बुधबार बिहान मन्जित भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार थिए । सोही क्रममा प्रहरीले उनलाई पिछा गरेको थियो । ‘गाँजा बोकेको आशंकामा प्रहरीले लखेटेपछि उनी ज्यान जोगाउन पोखरीमा हामफालेको कुरा आएको छ,’ स्थानीय शंकर यादव भन्छन्, ‘प्रहरीले कसरी लखेट्यो र एउटा १४ वर्षको बालक किन पोखरीमा डुब्ने अवस्थामा पुग्यो ? यसको गहन छानबिन हुनुपर्छ ।’

यता मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान बिआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोक्न खोजेको थियो । तर, चालक मन्जितले मोटरसाइकल छाडेर भाग्न खोज्दा नजिकैको पोखरीमा पसेका थिए । ‘हामीले उनी पोखरीमा डुबेको प्रत्यक्ष देखेका त होइनौँ, तर स्थानीयले देखेपछि र हाम्रा टोलीले सुइँको पाएपछि खोजी कार्य तीव्र पारेका छौँ,’ घटनास्थल पुगेका मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने ।

तनाव र खोजी कार्य
बुधबार दिनभर भेडियारीस्थित पोखरीको किनारमा मानिसहरूको भीड लाग्यो । कोही पोखरीको पानीमा मन्जितलाई खोजिरहेका थिए भने कोही प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका थिए । स्थानीयले खोजी कार्यमा ढिलासुस्ती भएको भन्दै आक्रोश पोखेका छन् ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार विपद् व्यवस्थापनको तालिमप्राप्त टोलीले दिनभर खोजी जारी राखेको थियो । ‘आज फेला पार्न सकिएन भने भोलि बिहानैदेखि कोशी प्रदेशको विशेष गोताखोर टोली परिचालन गर्नेछौँ,’ भण्डारीले जानकारी दिए ।

गाँजा र पक्राउ परेका भारतीय नागरिक
घटना केवल एउटा किशोर बेपत्ता हुनुमा मात्र सीमित छैन । मन्जित सवार रहेको भनिएको सोही मोटरसाइकलको पछाडि एक भारतीय नागरिक पनि थिए । प्रहरीले भारतको सुपौल जिल्ला, गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई ६ किलो १३० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
प्रहरीले बरामद गरेको गाँजा र मोटरसाइकलसहित शिवधरलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुमानमा मन्जितलाई ती भारतीय नागरिकले गाँजा ओसारपसारमा प्रयोग गरेको हुनसक्ने देखिन्छ । तर, एउटा १४ वर्षीय विद्यार्थी कसरी यो अवैध धन्दाको भुमरीमा फसे र अन्ततः पोखरीको गहिराइमा हराउन पुगे भन्ने कुराले धेरैलाई स्तब्ध बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।