विराटनगर– वातावरण र सरसफाइको क्षेत्रमा क्रियाशील ‘नेपाल फुलवारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रालि’ युरोपियन युनियन (ईयू) बाट सम्मानित भएको छ ।
ईयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत निजी फोहोरमैला उद्यम तथा अपसाइकलिङ विधामा उत्कृष्ट ६ भित्र पर्न सफल हुँदै संस्थाले २० लाख रुपैयाँ नगद अनुदानसहित प्रशंसापत्र प्राप्त गरेको हो ।
संस्थाका अध्यक्ष आनन्द मिश्र र युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोद्वारा हस्ताक्षरित प्रशंसापत्रमा संस्थाले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन, चक्रीय अर्थतन्त्र (सर्कुलर इकोनोमी) र वातावरणीय दिगोपनका लागि गरेको योगदानको उच्च कदर गरिएको छ । प्रशंसापत्रमा भनिएको छ, ‘तपाईंले वातावरणीय दिगोपनका लागि गर्नुभएको अनुकरणीय र प्रेरणादायी कार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै सकारात्मक योगदानको अपेक्षा गर्दछौं ।’
संस्थाका व्यवस्थापक केदार घिमिरेले प्राप्त अनुदान रकम संस्थाको भौतिक संरचना निर्माण र क्षमता अभिवृद्धिमा खर्च गरिएको जानकारी दिए । ‘ईयूले हाम्रो कार्यको मूल्यांकन गर्दै नगद सहयोगसहित सम्मान गरेको छ,’ घिमिरेले भने, ‘प्राप्त रकमले संस्थाको भौतिक पूर्वाधार व्यवस्थित गर्नुका साथै कर्मचारीका लागि निःशुल्क अस्थायी आवास संरचना निर्माण गरेका छौं । यसले कर्मचारीको मनोबल बढाउन मद्दत पुगेको छ ।’ उनले ईयू र आयोजक संस्थाप्रति आभार समेत प्रकट गरे ।
फुलवारीले हाल काठमाडौं उपत्यका (भक्तपुरसहित) मा करिब १३ हजार, विराटनगर महानगरपालिकामा ११ हजार र सुन्दरहरैँचा नगरपालिकामा १२ हजारभन्दा बढी घरधुरीबाट फोहोर संकलन गर्दै आएको छ । स्थानीय तहसँगको समन्वय र सहकार्यमा ‘फोहोरलाई मोहरमा रुपान्तरण गर्ने’ अभियान चलाउँदै आएको यस संस्थाले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।