विराटनगर । कोशी प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेतीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई प्रदेशको इतिहासकै ‘भद्दा मजाक’ र ‘कालो बजेट’ को संज्ञा दिएका छन् ।
शनिबार प्रदेश सभामा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै नेकपाका प्रदेश सचिव समेत रहेका उप्रेतीले मुख्यमन्त्री आफैँले ‘बिग्रेको’ भनी स्विकारेको बजेटमाथि छलफल गर्नुको औचित्य नरहेको बताए ।
उप्रेतीले बजेट पारित हुनुअगावै सरकार प्रमुखले बजेट बिग्रियो भन्नु संसदीय इतिहासमै विरलै हुने घटना भएको टिप्पणी गरे । ‘मुख्यमन्त्री आफैँले बजेट बिग्रियो, खत्तम भयो भन्नुहुन्छ, फेरि त्यही बजेट पास गर्न खोजिँदै छ,’ उनले भने, ‘बिग्रेको बजेटलाई कार्यान्वयन कसले गर्ने ? यो छलफल नै आफैँमा हास्यास्पद छ ।’
बजेट सच्याउने भनी अर्थमन्त्रीले दिएको आश्वासनलाई उनले ‘हनुमानले सूर्यलाई रातो फल ठानेर खान खोजेको’ पौराणिक कथासँग तुलना गरे । विनियोजन विधेयकका रूपमा प्रदेश सभामा आइसकेको बजेट साउनमा सच्याउँछु भन्नु वित्तीय अनुशासन विपरीत र कानुनी रूपमा असम्भव रहेको उनको भनाई छ । ‘साउनमा कसैले बजेट सच्याउन सक्छ ? यो आफ्नै सांसद र प्रदेशवासीलाई बेकुफ बनाउने काम मात्र हो,’ उनले भने ।
बजेटको बाँडफाँटमा चरम विभेद गरिएको तथ्याङ्क प्रस्तुत गर्दै उप्रेतीले कुल पुँजीगत बजेटको ४३ प्रतिशत हिस्सा मुख्यमन्त्री र मन्त्रीहरूका जम्मा ६–७ वटा निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गरिएको आरोप लगाए । उनले यसलाई ‘अंशबन्डा’ को संज्ञा दिँदै बाँकी ८६ वटा निर्वाचन क्षेत्रलाई उपेक्षा गरिएको बताए । ‘हिजो १०–१५ करोड बजेट तलमाथि हुँदा कोकोहोलो मच्चाउने साथीहरू आज ४३ प्रतिशत बजेट आफ्नै खल्तीमा हाल्दा चुपचाप हुनुहुन्छ ?,’ उनले भने ।
वर्तमान सत्ता समीकरणलाई ‘अप्राकृतिक’ र ‘गैरजिम्मेवार’ भन्दै उप्रेतीले सरकारको औचित्य सकिएको टिप्पणी गरे । ‘यो बजेट मात्र असफल भएको होइन, यो गठबन्धन नै असफल भइसक्यो,’ उनले भने, ‘बिरामी मरिसकेको छ, डाक्टरले मृत्युको प्रमाणपत्र मात्र दिन बाँकी छ । यो मृत सरकार र मृत गठबन्धनले प्रदेशको हित गर्दैन ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।