लोड हुँदैछ...

मेनु

विनियोजन विधेयकमाथिको छलफल

‘भाले क्याबिनेट’ महिलालाई सुम्पिनुस्, हामी चलाएर देखाइदिन्छौँ : सांसद गीता तिम्सिना

‘भाले क्याबिनेट’ महिलालाई सुम्पिनुस्, हामी चलाएर देखाइदिन्छौँ : सांसद गीता तिम्सिना

विराटनगर । कोशी प्रदेश सभा सदस्य गीता तिम्सिनाले प्रदेश सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै मन्त्रिपरिषद्को नेतृत्व महिलालाई सुम्पिन चुनौती दिएकी छिन् ।

शनिबार प्रदेश सभामा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी तिम्सिनाले वर्तमान ‘भाले क्याबिनेट’ ले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाइन् ।

“अब एक वर्ष कार्यकाल बाँकी होला, यो भाले क्याबिनेटले छाडेर हामी महिलालाई दिनुहोस्,” उनले भनिन्, “यो प्रदेश सरकार तपाईंहरूले भन्दा धेरै राम्रोसँग चलाएर, प्रदेशवासीले प्रशंसा गर्ने गरी देखाइदिन्छौँ । हामी चुनौती स्वीकार्न तयार छौँ, तपाईंहरू तयार हुनुहुन्छ ?”

सांसद तिम्सिनाले बजेट निर्माण र वितरणको शैलीलाई ‘बाँदरले रोटी बाँडेको’ जस्तो भन्दै व्यङ्ग्य गरिन । उनले प्रदेशका १४ वटै जिल्ला र ५६ वटै निर्वाचन क्षेत्रलाई समान न्याय गर्न सरकार चुकेको बताइन् । “पशुको भए पनि पोथीसँग सिक्नुहोस्, चल्लाको आमासँग सिक्नुहोस्, बच्चाको आमासँग सिक्नुहोस् र समान ढङ्गले अभिभावकको भूमिका निर्वाह गर्नुहोस्,” उनले भनिन् ।

४० अर्ब ४४ करोड ९८ लाखको बजेटमा भौतिक पूर्वाधारमा ३०.६३ प्रतिशत र खानेपानीमा १५.५४ प्रतिशत छुट्याइँदा प्रदेशको मेरुदण्ड मानिएको कृषिलाई मात्र ७.२३ प्रतिशत बजेट दिइनु बिडम्बनापूर्ण रहेको उनको भनाई थियो । “हाम्रो कोशी प्रदेशको आर्थिक आधार कृषि हो, तर कृषि बिचरा बालक जस्तो अन्तिममा छ,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।