विनु तिम्सिना
प्राकृतिक सौन्दर्य र धार्मिक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटनको हिसाबले अथाह सम्भावना बोकेको प्रदेश हो । कोशी प्रदेश सरकारले आफ्नो स्थापनाकालदेखि नै यो सम्भावनालाई सदुपयोग गर्न पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ । सरकारले नीति, कार्यक्रम तथा बजेटमै पर्यटनलाई विशेष जोड दिँदै पर्यटकीय गन्तव्यको प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणमा क्रान्ति नै ल्याएको छ । कोशी प्रदेश सरकारले गाउँका कुनादेखि प्रख्यात धार्मिक स्थलसम्म भौतिक पूर्वाधार निर्माणको अभियान नै चलाएपछि यहाँका पर्यटकीय गन्तव्यहरुले आफ्नो मुहार फेर्न थालेका छन् ।
प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको ‘पर्यटन विकास आयोजना’ मार्फत अहिले प्रदेशभरि करोडौं लगानीका ठूला पर्यटकीय संरचनादेखि गाउँघरका पार्क र पदमार्गसम्म निर्माण भइरहेका छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कोशी प्रदेश प्राकृतिक र धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्र भएपनि पूर्वाधार अभावले हाम्रा गन्तव्य ओझेलमा रहेको बताउनुभयो । अहिले प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उहाको भनाइ छ । कोशी प्रदेशमा पर्यटीक गन्तव्य धेरै छन्, मन्त्री पराजुलीले भने, तर सडक लगायत भौतिक संरचनाको अभाव छ । यसलाई मध्य नजर गरेर सरकारले पर्यटीय क्षेत्रको प्रवर्धन र विकासका लागि पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”
सरकारले निर्माण गरिरहेको करोडौं लगानीका ठूला आयोजनादेखि गाउँगाउँका पदमार्ग र मन्दिरसम्म पुगेको विकासले पर्यटकको बसाइ लम्ब्याउने र यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै प्रदेशको आर्थिक मुहार फेर्ने उहाले विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि नेपालको राष्ट्रिय पुँजी निर्माण र आर्थिक विकासको एक मात्र भरपर्दो विकल्प पर्यटन क्षेत्र नै भएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “हामीसँग जलविद्युत, युरेनियम र अन्य खानीहरूका सम्भावना पक्कै छन्, तर भू–राजनीतिक जटिलता र प्राविधिक कारणले ती चुनौतीपूर्ण हुन सक्छन् । त्यसैले नेपालको सर्वाङ्गीण आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र नै पहिलो र सबैभन्दा सुरक्षित आधार हो ।”
उहाले भौतिक पूर्वाधार (बाटो, भवन) सँगै नीतिगत र कार्यक्रमिक पूर्वाधारमा पनि सरकारले जोड दिएको प्रष्ट पार्नुभयो । “नेपालीहरूको ‘अतिथि देवो भवः’ को संस्कारलाई पुनर्जागृत गर्दै पर्यटकलाई उत्कृष्ट सत्कार दिनुपर्छ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो, “पर्यटन प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिगत, कानुनी र व्यवस्थापकीय प्रबन्ध मिलाउने जिम्मा प्रदेश सरकारले लिन्छ, निजी क्षेत्र निर्धक्क भएर आउनुप¥यो ।”
हजारौं आयोजना, फेरिँदै गन्तव्यको मुहार
पर्यटन विकास आयोजनाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म प्रदेशभर विभिन्न प्रकृतिका हजारौं पर्यटन पूर्वाधारका कामहरू सम्पन्न भएका छन् । जसले गर्दा ओझेलमा परेका गन्तव्यहरू उज्यालिएका छन् भने चल्तीका गन्तव्यहरू थप व्यवस्थित र सुरक्षित बनेका छन् । यस अवधिमा सबैभन्दा बढी काम पार्क निर्माण र सौन्दर्यकरणमा भएको छ । विगत केही वर्षको अवधिमा मात्रै प्रदेशभर ९ सय ८३ वटा पार्क निर्माण तथा सौन्दर्यकरणका काम सम्पन्न भएका छन् । यी पार्कहरूले आन्तरिक पर्यटकलाई घुमफिर र मनोरञ्जनको उत्कृष्ट विकल्प दिएका छन् भने सहर र गाउँको सौन्दर्यलाई पनि बढाएका छन् । यसैगरी, प्रकृतिको मनोरम दृश्यावलोकन गर्न र पहाडी डाँडाहरूलाई पर्यटकीय ‘हब’ बनाउन प्रदेशभर ३५ वटा सुविधासम्पन्न भ्युटावर (दृश्यावलोकन स्तम्भ) निर्माण गरिएका छन् ।
पर्यटक र स्थानीयवासीको सुविधाका लागि १ सय ३३ वटा कम्युनिटी हल तथा पर्खाल निर्माण गरिएका छन् । साहसिक तथा ग्रामीण पर्यटनको मेरुदण्ड मानिने पदमार्ग (ट्रेकिङ ट्रेल) निर्माणमा पनि सरकारले ठूलो फड्को मारेको छ । यस अवधिमा १ सय २९ वटा पदमार्ग निर्माण भएका छन् । पदमार्गको विकासले हिमाल र पहाडका दुर्गम बस्तीहरूलाई पर्यटनको मूलधारमा ल्याउन मद्दत गरेको छ, जसबाट स्थानीय स्तरमा रोजगारी र होमस्टे (घरवास) व्यवसाय फस्टाएको छ ।
कोशी प्रदेश सरकारले भौतिक पूर्वाधारसँगै आस्था र संस्कृतिको संरक्षणलाई पनि उत्तिकै महत्व दिएको छ । धार्मिक पर्यटन नेपालको पर्यटन उद्योगको एउटा प्रमुख हिस्सा हो । भारत लगायत अन्य देशबाट आउने लाखौं तीर्थयात्रीलाई लक्षित गर्दै सरकारले मन्दिर, मस्जिद, र गुम्बाको निर्माण तथा मर्मतसम्भारमा ठूलो लगानी गरेको छ । सरकारले ३ सय १४ वटा धार्मिक स्थलहरूको निर्माण तथा मर्मत सम्पन्न भएका छन् ।
मोरङको रंगेलीस्थित प्रसिद्ध ’संसारी माईस्थान’ मा धार्मिक पर्यटनलाई प्राकृतिक सौन्दर्यसँग जोड्न १३ करोड २४ लाख रुपैयाँको लागतमा पूर्वाधार विकास भइरहेको छ । जसको ८८ प्रतिशत काम सकिइसकेको पर्यटन विकास आयोजना कार्यालय विराटनगरका प्रमुख ह्रदयकुमार झाले जानकारी दिनुभयो । यसको निर्माणपछि यहाँ आउने लाखौं श्रद्धालुलाई सहज हुनुका साथै यसलाई धार्मिक पर्यटकीय सर्किटको रूपमा विकास गर्न मद्दत पुग्नेछ । त्यस्तै सुनसरीको चतराधाममा लाग्ने बृहत् कुम्भ मेलालाई व्यवस्थित बनाउन प्रदेश सरकारले यसै वर्ष १ करोड रुपैयाँ खर्चेर मेला स्थलमा कम्पाउन्ड वाल निर्माण गरेको छ भने थप ५० लाख रुपैयाँमा धार्मिक आवासीय भवनको स्तरोन्नति सम्पन्न गरेको छ ।
त्यसैगरी, विराटनगरमा निर्माणाधीन ‘मुसाफिर खाना भवन’ धार्मिक सहिष्णुता र समावेशी विकासको अर्को उत्कृष्ट नमुना बनेको छ । करिब ९३ लाख रुपैयाँको लगानीमा निर्माणाधीन यस भवनको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भइसकेको छ । मुस्लिम समुदायका विदेशी यात्रुहरूलाई सहज र सुरक्षित बासस्थान उपलब्ध गराउन यो भवन निर्माण गरिएको हो, जसले बाह्य धार्मिक पर्यटक भित्र्याएर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेल्नेछ ।
यता, बर्सेनि लाखौं भक्तजन पुग्ने ताप्लेजुङको पाथीभरा माता मन्दिर जाने बाटोमा सिँढी (ट्रस्ट) निर्माण गर्न चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन भई काम सम्पन्न भइसकेको छ । यसले जोखिमपूर्ण उकालो चढ्नुपर्ने बाध्यतालाई सहज बनाएको छ । यस्तै, वराहक्षेत्रको गुप्तेश्वर गुफा जाने बाटोमा रेलिङ, चौतारो, मेसिनरी वाल र बत्ती जडानका लागि ४० लाख रुपैयाँको काम अन्तिम चरणमा पुगेको छ । यी पूर्वाधारहरूले धार्मिक पर्यटकको बसाइ लम्ब्याउन र उनीहरूलाई सुरक्षित अनुभूति गराउन महत्त्वपूर्ण योगदान दिएका छन् ।
मनोरञ्जन र पर्या–पर्यटनमा जोड
स्थानीय स्तरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सुनसरीमा ‘मत्स्यगन्धा फनपार्क’ निर्माण भइरहेको छ । करिब २ करोड ४१ लाख रुपैयाँ लागतको यो आयोजनाको करिब ७५ प्रतिशत काम सकिएको पर्यटन विकास आयोजना कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८३÷०८४ सम्ममा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस फनपार्कले सुनसरी र आसपासका जिल्लाका लाखौं नागरिकलाई मनोरञ्जनको उत्कृष्ट गन्तव्य प्रदान गर्नेछ ।
तालतलैया र सिमसार क्षेत्रको संरक्षण गर्दै पर्या–पर्यटन (भ्अय–त्यगचष्कm) प्रवद्र्धन गर्न सरकारले विशेष ध्यान दिएको छ । चालु आर्थिक वर्षमा मात्रै ताल र पोखरी प्रवद्र्धन तथा विकासका लागि १३ वटा आयोजना सम्पन्न भएका छन् । यसले वातावरण संरक्षणका साथै चरा अवलोकन (बर्ड वाचिङ) र प्रकृतिप्रेमी पर्यटकलाई आकर्षित गर्न मद्दत पुर्याएको छ ।
बजेट विनियोजन र खर्चमा देखिएको उच्च प्रभावकारिता
आर्थिक वर्ष २०७९÷०८० मा आयोजनाका लागि करिब ९२ करोड २३ लाख रुपैयाँ विनियोजन भएकोमा करिब ८१ करोड अर्थात् ८७ दशमलव ८१ प्रतिशत बजेट खर्च भएको थियो । त्यस्तै, आव २०८०÷०८१ मा विनियोजित ८० करोड ९० लाखमध्ये ५१ करोड ३९ लाख (६३ दशमलव ५३ प्रतिशत) खर्च भएको छ । पछिल्लो आर्थिक वर्ष ०८१÷०८२ मा ४५ करोड ४१ लाख बजेट विनियोजन भएकोमा २६ करोड ६२ लाख रुपैयाँ खर्च भई ५८ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
चालु आर्थिक वर्षको तीव्र गति
अघिल्ला वर्षहरूमा झैँ चालु आर्थिक वर्षमा पनि पर्यटन विकास आयोजनाले पूर्वाधार निर्माणको गतिलाई तीव्रता दिएको छ । चालु आवमा मात्रै जम्मा २ सय ८८ वटा साना–ठूला पर्यटन पूर्वाधारका कार्यहरू सम्पन्न भइसकेको पर्यटन विकास आयोजना कार्यालयले जनाएको छ ।
यस अन्तर्गत १ सय ५० वटा मन्दिर र थानको निर्माण तथा मर्मत, २७ वटा गुम्बा निर्माण तथा मर्मत, र १२ वटा मस्जिद, इदगाह तथा कव्रिस्तान निर्माणका काम सम्पन्न भएका छन् ।
यस्तै, चालु आवमा ३३ वटा पार्क निर्माण तथा मर्मत, ३ वटा सङ्ग्रहालय मर्मत, २५ स्थानमा ६ वटा पदमार्ग निर्माण र २ वटा गुफा संरक्षणका काम सम्पन्न भएका छन् । पर्यटकलाई सूचना प्रवाह गर्न १ वटा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ भने २९ वटा सभा, कम्युनिटी हल, धर्मशाला र सामुदायिक भवन निर्माण भएका छन् । यात्रुहरूको सुविधाका लागि ४ वटा सार्वजनिक विश्रामस्थल र गन्तव्यको पहिचान झल्काउने ८ वटा कलात्मक गेट निर्माण तथा मर्मतका कामहरू सम्पन्न भएका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।