तेह्रथुम । बढ्दो बसाइँसराइ र घट्दो जन्मदरका कारण रित्तिँदै गएका पहाडी बस्तीमा जनसंख्या वृद्धि गर्न तेह्रथुमको छथर गाउँपालिकाले प्रोत्साहनमुखी सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ।
गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ मार्फत जन्मिने शिशुको नाममा पहिलो सन्तानलाई पाँच हजारदेखि चौथो र सोभन्दा माथिका सन्तानलाई २० हजार रुपैयाँसम्म बचत गरिदिने व्यवस्था लागू गरेको हो।
राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत जन्मिने प्रत्येक शिशुको नाममा बचत खाता खोलिने व्यवस्था छ। पहिलो आर्थिक वर्ष २०८१/८२ मा ५३ जना नवजात शिशु लाभान्वित भएको कार्यक्रमबाट चालु आर्थिक वर्ष २०८२/८३ मा लाभग्राहीको संख्या ७४ पुगेको गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ।
यस वर्ष कार्यविधि संशोधन गर्दै दोस्रो सन्तानका लागि १० हजार, तेस्रोका लागि १५ हजार तथा चौथो र सोभन्दा माथिका सन्तानका लागि २० हजार रुपैयाँ बचत गर्ने व्यवस्था गरिएको छ। दुई वा दुईभन्दा बढी सन्तान भएका परिवारका संरक्षकको नाममा समेत थप बचत गर्ने प्रावधान राखिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले सामाजिक सुरक्षालाई व्यवहारमै अनुभूति गराउने र घट्दो जनसंख्याको चुनौती सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार जन्मिने बालबालिकाको भविष्य सुरक्षित गर्नुका साथै गाउँमा बसोबासलाई प्रोत्साहन गर्ने लक्ष्य पनि कार्यक्रमको रहेको छ।
चालु आर्थिक वर्षमा पहिलो सन्तानका २५, दोस्रोका ३३, तेस्रोका १०, चौथाका चार तथा पाँचौँ र छैटौँ सन्तानका एक–एक जना कार्यक्रमबाट लाभान्वित भएका छन्।
बालबालिका जीवन सुरक्षा कार्यक्रमसँगै गाउँपालिकाले ज्येष्ठ नागरिक एकल पुरुष सम्मान, घरदैलो स्वास्थ्य सेवा, जनता आवास, मलामी खाजा सहयोग, भोका नागरिकलाई खाना तथा खाद्य रोजगारी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। गाउँपालिकाका अनुसार यी कार्यक्रमले जन्मदेखि वृद्धावस्थासम्म नागरिकको जीवनचक्रसँग जोडिएको सामाजिक सुरक्षा प्रणाली निर्माण गर्ने लक्ष्य लिएका छन्।
कार्यक्रमबाट लाभ लिएका अभिभावकहरूले पनि यसले बालबालिकाको भविष्यप्रति बचत गर्ने बानी विकास हुनुका साथै आर्थिक सुरक्षा र उत्साह बढाएको बताएका छन्।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।