झापा। झापाको बाह्रदशी गाउँपालिका–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरूपाश्रम गुरूकुलमा अध्ययनरत आवासीय बटुकहरूको अध्ययन र बसाइलाई सहज बनाउन दुई थान कुलर प्रदान गरिएको छ ।
बाह्रदशी–३ राजगढस्थित एभरेष्ट हाईपर मार्केटका सञ्चालक चान मोहम्मदले गर्मीको समयमा गुरूकुलमा आवासीय रूपमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ७० लिटर क्षमताका दुई थान कुलर सहयोग गरेका हुन् ।
गुरूकुलमा आवासीय रूपमा बस्दै अध्ययन गरिरहेका ५१ जना विद्यार्थीले अत्यधिक गर्मीका कारण असहजता महसुस गरिरहेको जानकारी पाएपछि उनीहरूलाई शीतल वातावरण उपलब्ध गराउने उद्देश्यले कुलर उपलब्ध गराइएको बताइएको छ ।
गुरूकुल परिसरमा आज आयोजित कार्यक्रमका बीच हाइपर मार्केटका सञ्चालक चान मोहम्मदले गौरीशंकर शिवालय गायत्रीस्वरूपाश्रम गुरूकुल व्यवस्थापन समिति अध्यक्ष ज्ञानु सुवेदीलाई कुलर हस्तान्तरण गरेका थिए । कार्यक्रममा गुरूकुल व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
हाल गुरूकुलमा ५१ जना आवासीय र १० जना गैरआवासीय गरी ६१ जना विद्यार्थी अध्ययनरत छन् । बाह्रदशी गाउँपालिकाको एकमात्र गुरूकुलका रूपमा परिचित यस शिक्षालयमा कक्षा ८ सम्म औपचारिक शिक्षा प्रदान गरिन्छ ।
विद्यालय शिक्षासँगै वैदिक अध्ययन, संस्कृत शिक्षा तथा सनातन कर्मकाण्डसम्बन्धी व्यवहारिक ज्ञानसमेत अध्यापन गरिँदै आएको छ । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै दक्ष वैदिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले गुरूकुल सञ्चालन हुँदै आएको व्यवस्थापन पक्षले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एभरेष्ट हाईपर मार्केटका सञ्चालक चान मोहम्मदले कञ्चनगढधाम क्षेत्र धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण रहेको बताएका छन् । महाभारतकालीन इतिहाससँग जोडिएको विश्वास गरिएको यस क्षेत्र उचित पूर्वाधार विकास र प्रचारप्रसार हुन सके बाह्रदशी गाउँपालिकाको मात्र नभई झापाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने उनको भनाइ थियो ।
गुरूकुलमा अध्ययनरत बटुकहरूले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले उनीहरूको अध्ययन वातावरण सहज बनाउन सहयोग गर्न पाएकोमा आफूलाई खुसी लागेको उनले बताए । आगामी दिनमा पनि शिक्षा, धर्म र समाजसेवाका क्षेत्रमा सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
गौरीशंकर शिवालय गायत्रीस्वरूपाश्रम गुरूकुल व्यवस्थापन समिति अध्यक्ष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरूकुलका प्राचार्य मनोज खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्थानीय विश्वास गौतमले गरेका थिए ।
कार्यक्रममा गुरूकुलका विद्यार्थी, शिक्षक, धर्मगुरू, व्यवस्थापन समिति सदस्य, अभिभावक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले निजी क्षेत्रबाट धार्मिक तथा शैक्षिक संस्थामा भएको यस्तो सहयोगले विद्यार्थीको अध्ययन वातावरण सुधार्नुका साथै समाजमा सहयोग र सहकार्यको संस्कृतिलाई समेत बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।