विराटनगर । कोशी प्रदेशको राजनीति फेरि एकपटक तरंगित भएको छ । प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने चर्चा चुलिएको छ । तर, कोशी प्रदेशको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको हुनाले यहाँ नयाँ सरकार गठनको प्रक्रिया निकै जटिल छ । यही राजनीतिक अन्योल, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको भनिएको सम्बन्ध र प्रदेशसभा विघटनको जोखिम लगायतका समसामयिक विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग कुराकानी गरिएको छ । प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंशः
कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिँदैछ भन्ने चर्चा छ । सुदूरपश्चिम र कर्णालीमा जस्तै कोशीमा पनि सरकार फेरबदल हुन लागेको हो ?
– सुदूरपश्चिम र कर्णाली प्रदेशमा मन्त्रीहरूलाई बाहिर राखिएको र त्यहाँ नेतृत्व परिवर्तनका कुराहरू भइसकेपछि नेपाली कांग्रेसभित्र अलिकति समस्या उत्पन्न भएको पक्कै हो । तर, जहाँसम्म कोशी प्रदेशको कुरा छ, हाम्रो यहाँ कांग्रेस र एमालेबीच कुनै पनि असमझदारी र असहमति छैन । कोशीमा नेपाली कांग्रेससँग हाम्रो सम्बन्ध सुमधुर नै छ । तर, केन्द्रबाटै सरकार छोड्न निर्देशन आएको मिडियामा आइरहेको छ । उहाँहरू (कांग्रेस) ले के गर्ने भन्ने विषयमा हामीसँग छलफल गरिरहनुभएको छ । केन्द्रको निर्देशन आएपछि उहाँहरू पनि मान्न बाध्य हुनुहुन्छ । आज बिहानसम्मको कुराकानीमा उहाँहरूले राजीनामा दिइहाल्ने स्थिति छैन । माथिको राजनीतिक स्पष्टता नहुन्जेलसम्म के हुन्छ भन्ने कुरा छलफलकै क्रममा छ ।
तपाईं नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो । यदि कांग्रेसले समर्थन फिर्ता लियो भने नयाँ समीकरण बन्दा कस्तो जटिलता आउँछ ?
– हो, हाम्रो सरकार उपधारा ५ अनुसार बनेको हुनाले यसका केही अलग कम्प्लिकेसनहरू छन् । यसको निराकरण भनेको कि त सामान्य अवस्थामा चुनाव (मध्यावधि) मा जाने हो, कि त नेतृत्व परिवर्तनका लागि विधि र प्रक्रिया पु¥याएर अगाडि बढ्ने हो । म यी दुवै कुरामा तयार छु । दलगत हिसाबले दुई ठूला दल (एमाले र कांग्रेस) ले सल्लाह गरेर एउटा निष्कर्षमा पुग्दा जे हुन्छ, म त्यो मान्न तयार छु । तर, अहिले नै एक्कासि राजीनामा दिएर हिँडिहाल्ने भन्ने कुरा हुँदैन । खाली ठाउँमा छोडेर जाने कुरा भएन, विधिपूर्वक अगाडि बढ्ने मेरो मान्यता हो ।
यदि यो उपधारा ५ को सरकार विघटन भयो भने प्रदेशसभा विघटन हुने अवस्था सम्म पुग्छ भन्न खोज्नुभएको हो ?
– हो, यो सरकार ढल्यो भने प्रदेशसभा विघटन हुन सक्ने संवैधानिक र कानुनी बाटो तथा अधिकार छ । तर, म एक्लैले स्वेच्छाचारी ढंगले त्यस्तो निर्णय लिन्नँ । म मुख्यमन्त्रीको हैसियतमा अधिकार प्राप्त भए पनि समग्र सल्लाह गरेर मात्रै अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु । म सामान्यतया समझदारी, सहमति र सहकार्यका साथ विधिपूर्वक अगाडि बढ्ने स्वभावको मान्छे हुँ र मेरो अडान पनि त्यही हो ।
मिडियामा एउटा चर्चा निकै सुनिन्छ । तपाईंलाई हटाउन कांग्रेसका सांसदहरूसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कुरा गर्नुभयो र तपाईंहरु बीचको सम्बन्ध निकै चिसिएको छ । खास कुरा के हो ? अध्यक्ष ओली तपाईसँग किन रिसाउनु भयो ?
– मैले मेरो पार्टीको अध्यक्षलाई धेरै नजिकबाट चिनेको छु र उहाँसँगै रहेर काम गरेको छु । त्यसैले, मिडियामा लेखिएका यस्ता कुरामा मलाई पटक्कै विश्वास छैन । यो पूर्णतया काल्पनिक कुरा हो । कमरेड केपी शर्मा ओली विधि, पद्धति, प्रक्रिया र राजनीतिक क्षेत्रमा एउटा सक्षम र धेरै पारंगत नेता हुनुहुन्छ । उहाँले त्यस्ता कुरा गर्नुभयो भन्ने मलाई रत्तिभर विश्वास छैन । यो कसरी र किन लेखियो, म आफैँ आश्चर्यमा छु ।
एमालेभित्र पार्टी पुनर्गठन वा नेतृत्व परिवर्तनको बहस चलिरहँदा तपाईंले अध्यक्ष ओलीको अर्को पक्षमा लबिङ गर्नुभएको कारण उहाँ असन्तुष्ट हुनुहुन्छ रे नि ?
– मैले त्यस्तो कुनै लबिङ गरेकै छैन । उहाँ (अध्यक्ष) ले थाहा पाउने कुरै भएन । हाम्रो पार्टीको जेठ ४ गतेदेखि प्रारम्भ भएर १० गते टुंगिएको सचिवालय बैठकले पार्टीको निर्वाचन समीक्षासहित देशव्यापी राय सुझाव संकलन गर्ने र त्यसको निष्कर्षका आधारमा पार्टीलाई अगाडि बढाउने कार्यदिशा तय गरेको छ । यो विषयमा हामी (पार्टी पंक्ति) सबै एकमत छौं ।
कोशी प्रदेशमा बजेट पारित गर्ने बेलामा पनि एमाले र कांग्रेसभित्रै केही आन्तरिक समस्या र असन्तुष्टि देखिएको थियो । त्यसको असर अहिलेको परिस्थितिमा परेको त होइन ?
– होइन, त्यो कुरा सकिसक्यो । बजेटका बेला भएका आन्तरिक समस्याहरूको समाधान भइसकेको छ । अहिलेको परिस्थितिमा त्यसको कुनै असर छैन ।
अन्त्यमा, कोशी प्रदेशमा ६ पटक सरकार परिवर्तन भयो । १८ औं पटकसम्म मन्त्रीहरू थपिने हटाउने भयो । अहिले फेरि सरकार परिवर्तनको कुरा आइरहेको छ । यस्ता कुराले जनतामा कस्तो सन्देश गइरहेको छ ?
– यस्ता गतिविधिले बिल्कुल नराम्रो सन्देश गएको छ । यो कुरामा कोशी प्रदेशका एमाले, नेपाली कांग्रेस र नेकपालगायतका प्रदेशसभा भित्रका सबै जिम्मेवार नेताहरू गम्भीर छौँ । हामी नेतृत्व फेरिरहने, मन्त्री फेरिरहने र प्रदेशलाई अस्थिर बनाइराख्ने पक्षमा छैनौँ । हामी राजनीतिक स्थिरताकै पक्षमा छौँ ।
तपाईले आफ्नो सरकार ढल्ने अवस्थामा जोगाउनका लागि काँग्रेस बाहेकका दलसँग पनि छलफल चलाइरहनु भएको छ ?
– राजनीतिक दलहरु सबैसँग छलफल भइरहेकै छ । सबै कुरा मिडियामा भन्ने कुरा पनि भएन । तर, हामी सबै मिलेर प्रदेशलाई सक्षम र सबल बनाउनु पर्छ भन्ने मेरो मान्यता छ । प्रदेशसभा विचैमा विघटनतिर लैजानु हुँदैन ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।