लोड हुँदैछ...

मेनु

भन्सारका ‘विवादास्पद’ अक्बर अलि : डेढ लाखको सामान लुकाउँदा ५ लाख ७७ हजार जरिवाना

भन्सारका ‘विवादास्पद’ अक्बर अलि : डेढ लाखको सामान लुकाउँदा ५ लाख ७७ हजार जरिवाना

विराटनगर । प्रज्ञापन पत्रमा वास्तविक विवरण लुकाएर ठूलो परिमाणमा राजस्व छली गर्ने विराटनगर भन्सारका एजेन्ट प्रतिनिधि अक्बर अलिलाई साढे पाँच लाख बढी जरिवना तिराएको छ ।

विराटनगर भन्सार कार्यालयले चार दिन लामो सूक्ष्म अनुसन्धानपछि अलिलाई राजस्व छलीमा दोषी ठहर गर्दै ५ लाख ७७ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

एजेन्टको लाइसेन्स भाडामा लिएर ‘सेटिङ’ मार्फत राजस्व छली गरेका अलिलाई १ लाख ५७ हजार रुपैयाँ बराबरको सामान लुकाएको पुष्टि भएपछि भन्सारले उक्त जरिवानाको गरेको हो ।

लाइसेन्स भाडामा लिएर लुटधन्दा
भन्सार एजेन्ट भरत भट्टराईको लाइसेन्स वार्षिक दुई लाख रुपैयाँमा भाडामा लिएर अलिले लामो समयदेखि अवैध कारोबार गर्दै आएका थिए । आफ्नै फर्म नभए पनि अरूको लाइसेन्स प्रयोग गरी राजस्व छलीमा ‘माहिर खेलाडी’ बनेका अलिले भन्सार कर्मचारीको विश्वास र प्रक्रियागत छिद्रको फाइदा उठाउँदै आएका थिए ।

सशस्त्रको सक्रियताले खुल्यो पोल
गएको असार २९ गते भारतीय नम्बर प्लेटको बीआर ०१ जीए ३३४७ नम्बरको ट्रक भन्सार जाँचपास सकेर बाहिरिने क्रममा सशस्त्र प्रहरीको नियन्त्रणमा परेपछि यो गिरोहको पर्दाफास भएको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गजेन्द्र बहादुर भण्डारीको निर्देशनमा खटिएको सशस्त्रको रानी गुल्मको टोलीले शंकास्पद ट्रकलाई नियन्त्रणमा लिई पुनः जाँच (रिचेक) का लागि भन्सारमा बुझाएको थियो ।

भन्सारको भौतिक परीक्षणका क्रममा अलिले सिलाइ मेसिन र चस्मा आयात गरेको भनी प्रज्ञापन पत्र भरे पनि त्यसभित्र महँगा कपडाहरू लुकाएर ल्याएको फेला पर्यो । प्रज्ञापन पत्रमा उल्लेख नभएका थप २७ वटा विभिन्न सामग्रीका आइटम र १२ बोरा लुकाइएको कपडा बरामद भएपछि उनको कर्तुत छताछुल्ल भएको हो ।

एजेन्टको लाइसेन्स नै खारेजीको जोखिममा
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले छानबिन समितिको प्रतिवेदनका आधारमा जरिवाना गरिएको पुष्टि गरे । उनले भने, “भन्सार ऐन अनुसार स्वघोषणा भन्दा बढी सामान भेटिएपछि हामीले जरिवाना गरेका छौं । एजेन्टको लाइसेन्सको हकमा पनि थप कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।”

यता, भन्सार एजेन्टको लाइसेन्स भाडामा दिएर अवैध कामको बाटो प्रशस्त गरिदिएको आरोपमा मुख्य एजेन्ट भरत भट्टराईको लाइसेन्स समेत जोखिममा परेको छ । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी नन्दनले केही सहयोगीका कारण समग्र एजेन्टहरूको बदनाम भएको भन्दै गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

दैनिक ५ सयभन्दा बढी सवारी साधन बाहिरिने विराटनगर भन्सारमा कर्मचारीहरूले विश्वासका आधारमा गर्ने जाँचपासको फाइदा उठाउँदै अलि जस्ता प्रतिनिधिले राजस्व छली गर्ने गरेका छन् । यस घटनाले भन्सार सुरक्षा र जाँच प्रक्रियामा थप कडाइ गर्नुपर्ने चुनौती थपिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।