लोड हुँदैछ...

मेनु

कोशीसहित देशभर ‘अति भारी’ वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह

कोशीसहित देशभर ‘अति भारी’ वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह

विराटनगर जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशसहित देशका विभिन्न स्थानमा आगामी तीन दिनसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विराटनगरलगायत कोशी प्रदेशका तराई तथा पहाडी भू–भागका थोरै स्थानमा आज भारी वर्षा र एक–दुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो। विशेषगरी आज राति कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले कोशीसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी देखिएको छ। विभागका अनुसार कोशी बाहेक बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भू–भागमा पनि भारी वर्षाको सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने बताइएको छ।

संभावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै विभागले प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने रातिको समयमा अति भारी वर्षाको जोखिम रहेकाले उच्च सतर्क रहन विभागको विशेष सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।