लोड हुँदैछ...

मेनु

कोशीका मुख्य राजमार्ग अवरुद्ध, देशभर दर्जन बढी सडक ठप्प

कोशीका मुख्य राजमार्ग अवरुद्ध, देशभर दर्जन बढी सडक ठप्प

विराटनगर ।अविरल वर्षा र पहिरोका कारण कोशी प्रदेशका मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। मेची राजमार्ग र मध्य पहाडी लोकमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा यात्रा कष्टकर बनेको छ।

आधिकारिक विवरण अनुसार, मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो र वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाममा वैकल्पिक बाटो उपलब्ध भए पनि ताप्लेजुङ खण्डमा भने यातायात ठप्प छ। यस्तै, मध्य पहाडी लोकमार्गको भोजपुर खण्ड (बोखिम) मा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ।

कोशी प्रदेश बाहेक देशभरका अन्य मुख्य सडकहरूको अवस्था पनि निकै सास्तीपूर्ण रहेको छ । बीपी राजमार्गमा सम्भावित बाढीका कारण रात्रिकालीन सवारीमा रोक लगाइएको छ। कान्ति लोकपथ र अरनिको राजमार्ग (सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी) पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको तीनपिप्ले–बञ्चरे डाँडा सडक खण्ड पनि पहिरोले बन्द छ।

कालीगण्डकी करिडोर (बागलुङ) र आरुघाट–माछीखोला सडक खण्ड (गोरखा) पहिरोका कारण पूर्ण रूपमा ठप्प छन्। लुम्बिनी प्रदेशको सालझण्डी–ढोरपाटन सडक (अर्घाखाँची) र घोराही–थवाङ शहीद राजमार्ग (रोल्पा) मा पहिरो खस्दा यातायात पूर्ण रूपमा रोकिएको छ।

वर्षा र पहिरोको जोखिम कायमै रहेकाले सडक विभाग र प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।