विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकास्थित एक मन्दिरमा चोरी गर्ने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति चोरीका सामग्रीसहित उनीहरूलाई कानेपोखरी चोकबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ का ३१ वर्षीय दिवश दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जी रहेका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार राति करिब ११ बजे अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सोधपुछका क्रममा उनीहरूले कानेपोखरी–५ स्थित सावायोहाङ किराँत महिम मन्दिरमा चोरी गरेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरूको साथबाट चोरीमा प्रयोग गरिएको को ३४ प ५७७९ नम्बरको स्कुटर र मन्दिरबाट ल्याइएका ६० थान तामाको कलश, ४६ थान दियो, १२ थान घण्टी र ३ थान तामाको थाली बरामद गरेको छ ।
त्यस्तै, उनीहरूको साथबाट ६६५ रुपैयाँ नगद, ६२ थान सिक्का तथा ताला फुटाउन प्रयोग गरिने फलामको रड, हम्बर र पिलाससमेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको छ । उनीहरूविरुद्ध चोरी सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको डीएसपी मिश्रले जानकारी दिए । पक्राउ परेकाहरू यसअघि पनि चोरीका घटनामा संलग्न रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।