विराटनगर । मोरङ कारागारका कैदीबन्दीको भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको घरबाट प्रहरीले पैसा गन्ने मेसिन बरामद गरेको छ ।
मोरङ प्रहरीले गिरीलाई गत शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेकै समयमा घर खानतलासी गर्दा पैसा गन्ने मेसिन फेला परेको मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । ‘खानतलासीका क्रममा पैसा गन्ने मेसिन बरामद भएको छ,’ डिएसपी मिश्रले भने, ‘पक्राउ परेपछि अन्य थप तथ्यहरू खुल्दैछन्। हामीले यस विषयमा गहन अनुसन्धान जारी राखेका छौँ ।’
गिरी पक्राउ परेपछि प्रहरीले सोधपुछका लागि अन्य पाँच जनालाई नियन्त्रणमा लिएको थियो । जसमध्ये दुई जनालाई प्रहरीले छाडिदिएको छ भने कारागारमा तरकारी पुर्याउने विनोद सिंहसहित दुई जना र गिरीका सहयोगी दीपक कार्की अझै प्रहरी नियन्त्रणमै छन् । उनीहरूमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसरी हुन्थ्यो असुली
गिरीमाथि कारागारका कैदीबन्दीले पाउने सरकारी सुविधा र उनीहरूको श्रमबापतको आम्दानी जबरजस्ती असुल्ने गरेको गम्भीर आरोप छ । हाल मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी छन् । उनीहरूले दैनिक ८० रुपैयाँका दरले सिधा भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ ।
यसबाहेक सरकारले प्रति कैदी वार्षिक रूपमा लत्ताकपडाका लागि ५ हजार रुपैयाँ उपलब्ध गराउँछ । कारागारभित्र करिब ५ सय जनाले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट प्राप्त हुने आम्दानी र सरकारी भत्तासमेत गिरीले तरकारी आपूर्तिकर्तामार्फत ‘क्यास’ संकलन गर्न लगाएर लिने गरेको सुरक्षा स्रोतको दाबी छ ।
पक्राउ परेका गिरी र अन्य सहयोगीहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरी संगठित अपराध वा अन्य उपयुक्त मुद्दामा अनुसन्धान अघि बढाउने तयारी प्रहरीको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।