लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा एक सातामै २३ प्रतिशत धान रोपाइँ, तर मल अभावले किसान समस्यामा

कोशी प्रदेशमा एक सातामै २३ प्रतिशत धान रोपाइँ, तर मल अभावले किसान समस्यामा

विराटनगर । कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै धान रोपाइँले तीव्रता पाएको छ। असारको अन्तिम सातामा भएको पर्याप्त वर्षाका कारण रोपाइँ गर्ने दरमा उल्लेख्य वृद्धि भएको हो। कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोशी प्रदेशमा एक साताको अवधिमा धान रोपाइँको क्षेत्रफलमा झण्डै २३ प्रतिशतले वृद्धि भएको छ।

निर्देशनालयको असार २२ गतेको प्रतिवेदन अनुसार प्रदेशमा ३१.९४ प्रतिशत मात्र रोपाइँ भएको थियो। तर, वर्षामा सुधार आएसँगै असार २९ गतेसम्म आइपुग्दा रोपाइँको कुल प्रगति ५४.८६ प्रतिशत पुगेको छ। कोशी प्रदेशमा धान खेतीयोग्य कुल २ लाख ७६ हजार ४५६ हेक्टर जमिनमध्ये हालसम्म १ लाख ५१ हजार ६१९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ। यो समय धान रोपाइँको मध्य र मुख्य समय भएकाले पनि खेतमा किसानको चटारो बढेको देखिन्छ।

भौगोलिक अवस्थितिका आधारमा हेर्दा कोशीको मध्य पहाडी भेगमा सबैभन्दा बढी ६१.०९ प्रतिशत रोपाइँ सकिएको छ। त्यस्तै, तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा ५३.६६ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ भने उच्च पहाडी जिल्लाहरूमा ४२.५१ प्रतिशत प्रगति भएको छ। जिल्लागत रूपमा हेर्दा सोलुखुम्बुमा ७५ प्रतिशत, खोटाङमा ७५.३६ प्रतिशत र भोजपुरमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। तराईका जिल्लाहरूमध्ये झापामा ६१.८० प्रतिशत, मोरङमा ४६ प्रतिशत र सुनसरीमा ५२ प्रतिशत रोपाइँ सकिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।

पछिल्लो समय वर्षा नियमित भइरहेकाले आकाशे पानीको भरमा रहेका किसानलाई ठूलो राहत मिलेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष समयमै मनसुन सक्रिय भएकाले रोपाइँको दर पनि उत्साहजनक देखिएको छ। तर, रोपाइँको यो मुख्य समयमा किसानहरूले प्रकृतिको साथ पाए पनि सरकारको साथ पाउन सकेका छैनन्। रोपाइँको चटारोबीच किसानहरूले रासायनिक मलको चरम अभाव झेल्नुपरेको छ।

विशेषगरी धान रोप्ने बेला आधारभूत रूपमा चाहिने डीएपी मलको बजारमा ठूलो हाहाकार छ। रोपाइँ सकेका किसानहरू अब हाल्नुपर्ने युरिया मलको खोजीमा भौतारिरहेका छन्, तर सरकारी डिपो र सहकारीहरूमा मलको मौज्दात रित्तिएको छ। सरकारले हरेक वर्ष समयमै मल उपलब्ध गराउने आश्वासन दिए पनि व्यवहारमा किसानले सधैँ झैँ यसपटक पनि मुख्य सिजनमै सास्ती खेप्नुपरेको छ। समयमा मल हाल्न नपाउँदा धानको उत्पादन घट्ने चिन्ताले यतिबेला कोशीका कृषकहरूलाई पिरोलेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।