विराटनगर । कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले कोशी प्रदेशका धेरैजसो स्थानमा मौसम बदली भई वर्षाको सम्भावना देखिएको हो ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेकाले कोशी प्रदेशका केही स्थानमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशभर साधारणतया बादल लाग्नेछ । प्रदेशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
आज राति पनि प्रदेशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशसँगै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा पनि भारी वर्षाको सम्भावना रहेकाले देशभरकै जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ । भारी वर्षा र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानजस्ता प्रकोपबाट बच्न र ती क्षेत्रमा हुनसक्ने यातायात तथा कृषि क्षेत्रको अवरोध कम गर्न महाशाखाले सबैमा सतर्कताका लागि अनुरोध गरेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।