लोड हुँदैछ...

मेनु

मोरङ उद्योग व्यापार संघलाई आईसीसीको सदस्यता, अन्तर्राष्ट्रिय व्यापारमा हुनसक्छ फाइदा

मोरङ उद्योग व्यापार संघलाई आईसीसीको सदस्यता, अन्तर्राष्ट्रिय व्यापारमा हुनसक्छ फाइदा

विराटनगर । नेपालकै पहिलो उद्योग वाणिज्य संघको रुपमा रहेको मोरङ उद्योग व्यापार संघ विश्वकै ठूलो व्यावसायिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्स (आईसीसी) को सदस्य बनेको छ । सन् २०२५ देखि लागू हुने गरी सदस्यता प्राप्तिसँगै नेपाली उद्योगी र व्यवसायीका लागि अन्तर्राष्ट्रिय स्तरका सेवा र अवसरको ढोका खुलेको छ । आईसीसीको सदस्य बनेपछि अब मोरङ उद्योग व्यापार संघमार्फत नेपाली व्यवसायीहरु विश्वका एक सयभन्दा बढी देशका व्यावसायिक सञ्जालसँग प्रत्यक्ष जोडिनपुगेको संघले जनाएको छ ।

यसबाट अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, लगानी र बौद्धिक सम्पत्ति अधिकार जस्ता महत्वपूर्ण विषयमा हुने विश्वस्तरीय छलफलमा नेपाली निजी क्षेत्रको आधिकारिक सहभागिता सुनिश्चित हुने भएको छ । आगामी दिनमा अन्तर्राष्ट्रिय नीति निर्माणका क्रममा नेपाली व्यवसायीका सुझाव र धारणा समावेश गराउन सहज हुने संघका अध्यक्ष अनुपम राठीले बताए ।

विशेषगरी अस्थायी आयात–निर्यातलाई सहज बनाउने आईसीसीको एटीए कार्नेट प्रणाली अब नेपालका व्यवसायीले संघमार्फत नै उपयोग गर्न पाउने उहाँले जानकारी दिए । निर्यातकर्ताहरुले आईसीसीको मापदण्डअनुसारका आवश्यक प्रमाणपत्र र व्यावसायिक सिफारिसहरु संघबाटै प्राप्त गर्न सक्नेछन् ।

संघले प्राप्त गरेको सदस्यताले नेपाली व्यवसायीलाई विश्वका विभिन्न देशका चेम्बरहरुसँग सिधै सम्पर्क स्थापित गराउनेछ भने अन्तर्राष्ट्रिय व्यापार मेला, व्यावसायिक बैठक र बी टू बी म्याच मेकिङ कार्यक्रममा सहभागिताको अवसर मिल्नेछ । आईसीसीअन्तर्गतको वल्र्ड चेम्बर्स फेडरेशनले सञ्चालन गर्ने मेन्टरशिप कार्यक्रम, तालिम र क्षमता अभिवृद्धि कार्यशालामा समेत संघका सदस्यहरु सहभागी हुन पाउनेछन् । यसबाट साना तथा मझौला उद्योगहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न आवश्यक सूचना र अनुसन्धानमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

व्यावसायिक सुरक्षाका दृष्टिले पनि यो सदस्यता महत्वपूर्ण रहेको बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारिक विवाद समाधानका लागि आईसीसीको विश्व प्रसिद्ध मध्यस्थता सेवा नेपाली व्यवसायीले अब सहजै उपयोग गर्न पाउनेछन् । यसले वैदेशिक व्यापारमा हुने जोखिम कम गर्न मद्दत गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन, निर्यात प्रवद्र्धन गर्न र विदेशी लगानी आकर्षित गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अध्यक्ष राठीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।