लोड हुँदैछ...

मेनु

संरक्षणको पर्खाइमा ३२५ वर्ष पुरानो चेम्जोङ वंशघर

संरक्षणको पर्खाइमा ३२५ वर्ष पुरानो चेम्जोङ वंशघर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–७ मौनाबुधुकको ठूलो टारमा अवस्थित करिब ३२५ वर्ष पुरानो चेम्जोङ वंशघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यो घर संरक्षणका लागि स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

घर वरिपरि आधुनिक भवन निर्माण भइसके पनि ढुङ्गा, माटो र परम्परागत सामग्रीबाट बनेको यो पुरानो घर अझै इतिहासको साक्षीका रूपमा उभिएको छ। घरभित्र परम्परागत शैलीका छ वटा चुल्हा, तीन वटा जाँतो, ढुङ्गा र माटोबाट बनेका भर्‍याङ तथा माटोको धानसार अहिले पनि देख्न सकिन्छ। यही कारण यो घरलाई ‘छचुल्हे घर’का नामले पनि चिनिन्छ।

धनकुटाका चेम्जोङ समुदायको पुख्र्यौली वंशघरका रूपमा परिचित यो घरको छानो चुहिन थालेको छ भने काठ मक्किँदै गएका छन्। काँचो इँटाका भित्तामा चिरा परेका छन् र घरभित्र रहेका पुरातात्त्विक सामग्री पनि अव्यवस्थित अवस्थामा छन्।

स्थानीयवासी तथा चेम्जोङ वंश उत्थान सङ्घले आफ्नै प्रयासमा घरको संरक्षण गर्दै आएका छन्। घरकी संरक्षक मनमाया चेम्जोङले केही वर्षअघिसम्म यही घरमा बसोबास गरे पनि अहिले छुट्टै घर निर्माण गरी त्यहाँ सरेको बताउनुभयो।

“यो हाम्रा पुर्खाको घर हो। श्रीमान् बित्नुभयो, छोरा–बुहारी बाहिर छन्। मैले सकेसम्म लिपपोत र टालटुल गरेर जोगाइरहेकी छु,” उहाँले भन्नुभयो।

स्थानीय सन्तोष चेम्जोङका अनुसार समय–समयमा छानो मर्मत गरिए पनि दीर्घकालीन संरक्षण नहुँदा घर जीर्ण बन्दै गएको छ। उहाँले यसलाई पुरातात्त्विक सम्पदाका रूपमा सूचीकरण गरी पुरातत्त्व विभागमार्फत संरक्षण गर्नुपर्ने तथा चौबिसे गाउँपालिकाले वार्षिक कार्यक्रममा समेटेर संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउनुभयो।

चेम्जोङ वंशावलीअनुसार पयाङ्गुम्बाका कान्छा छोरा केदाबाले करिब ४२५ वर्षअघि उक्त स्थानमा पहिलो घर निर्माण गरेका थिए। त्यसपछि उनका चौथो पुस्ताका सन्तान पेयुङ्नाम्बाले करिब ३२५ वर्षअघि अहिलेको स्वरूपमा घर पुनर्निर्माण गरी एउटै घरभित्र छ वटा चुल्हा बनाएर आफ्ना छ जना छोराबीच भागबन्डा गरेको चेम्जोङ वंश इतिहासका जानकार तथा चेम्जोङ वंश उत्थान सङ्घका केन्द्रीय अध्यक्ष टेकरत्न चेम्जोङले जानकारी दिनुभयो।

यद्यपि, ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ पुस्तकमा पूर्वप्रधानाध्यापक तथा वंशसम्बन्धी जानकार कृष्णगोविन्द चेम्जोङले भने उक्त घर आसमान चेम्जोङले निर्माण गरेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार घरमा झिङ्गटीको छानो हाल्न अनुमति लिन आसमानका जेठा छोरा अदलसिंह काठमाडौं गएका बेला अन्य भाइहरूले घरको भागबन्डा गरिसकेका थिए। यी दुवै ऐतिहासिक विवरणले घर कम्तीमा तीन शताब्दीभन्दा पुरानो रहेको पुष्टि गर्ने जानकारहरूको भनाइ छ।

चेम्जोङ समुदायको पुख्र्यौली थातथलो इलामको चारखोला क्षेत्रस्थित चेम्फुवाजङ मानिन्छ। वंशावलीअनुसार पयाङ्गुम्बा (चेम्फोजङ्हाङ) त्यहीँ जन्मिएका थिए र उनकै नामबाट ‘चेम्जोङ’ थर प्रचलनमा आएको विश्वास गरिन्छ। पछि उनका सन्तान धनकुटाको मौनाबुधुकमा बसोबास गर्न पुगेका थिए ।

घर नजिकै रहेको टारमा छ भाइले मुन्धुमअनुसार गाडेका ढुङ्गा अझै सुरक्षित रहेका छन्। स्थानीयका अनुसार ती ढुङ्गा वंश विभाजनका ऐतिहासिक प्रमाण हुन् ।

चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले यो घर वास्तुकलाका दृष्टिले मात्र नभई लिम्बुवानको इतिहाससँग पनि गहिरो सम्बन्ध राख्ने बताउनुभयो। पालिकाले आफ्नो स्रोतअनुसार संरक्षणका काम गरिरहेको उल्लेख गर्दै उहाँले आवश्यक बजेटका लागि संघ र प्रदेश सरकारसँग माग गरिएको जानकारी दिनुभयो ।

स्थानीयवासीले ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्व बोकेको यस वंशघरलाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।