विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएपछि नेपाली कांग्रेसका प्रदेश सांसदहरु रिफ्रेसमेन्टका लागि भेडेटार पुगेका छन् । आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कोशी प्रदेश सरकारले ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रदेशसभाबाट पारित भएको छ । तर पारित हुनुभन्दा अगाडिको राजनीतिक द्वन्द्व र त्यसपछि साउन तेस्रो साताभित्रै बजेट सच्याउने सरकारको वाचा सेलाएको छैन ।
नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले बजेट पारित भएको खुसीयाली मनाउन र सांसदहरुलाई रिल्याक्स गराउन भेडेटारमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यसलाई कुनै राजनीतिक बैठक भन्दा पनि एउटा उत्सव र पिकनिकको रुपमा बुझ्न आग्रह गरे ।
‘हामी बजेट पास गरेर सेलिब्रेसन गर्न र रिल्याक्स गर्न यहाँ आएका हौं,’प्रमुख सचेतक तामाङले भने, ‘बजेटको कामले निकै ह्याङ भएको थियो, त्यसैले रिफ्रेसमेन्टको लागि यो कार्यक्रम राखिएको हो । यसलाई एउटा स्वस्थ राजनीतिक कल्चरको विकासको रुपमा पनि हेरिनुपर्छ ।’
भेडेटारमा हाल १५ देखि २० जनाको हाराहारीमा सांसदहरु भेला भएका छन् । बुधबार बेलुका नै त्यहाँ पुगेका उनीहरु भोलिसम्म बस्ने सम्भावना छ । दलका नेताको व्यस्तता र योजना अनुसार बसाइ २–३ दिनसम्म लम्बिन सक्ने पनि तामाङले बताए ।
यतिबेला कोशी प्रदेशमा नयाँ सरकार र मुख्यमन्त्रीको विषयलाई लिएर विभिन्न चर्चा भइरहेका बेला कांग्रेस सांसदहरुको यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको थियो । तर, प्रमुख सचेतक तामाङले भने यो भेलामा कुनै पनि राजनीतिक मुद्दा वा भावी मुख्यमन्त्रीका विषयमा छलफल नहुने प्रस्ट पारे । ‘भावी मुख्यमन्त्री वा सरकारका बारेमा केही पनि छलफल हुँदैन, भाईहरुले त्यस्तो धेरै नसोचे हुन्छ,’उनले थपे, ‘हामी यहाँ विशुद्ध रमाइलो गर्न र रिफ्रेस हुन मात्र आएका हौं ।’


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।