लोड हुँदैछ...

मेनु

काँग्रेस–एमाले गठबन्धन कोशीका लागि बोझ बन्यो : आङ्बो

काँग्रेस–एमाले गठबन्धन कोशीका लागि बोझ बन्यो : आङ्बो

विराटनगर । कोशी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी का नेता इन्द्रबहादुर आङ्बोले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार प्रदेशका लागि बोझ भइसकेको टिप्पणी गरेका छन् । प्रदेशसभाको विशेष समयमा बोल्दै नेता आङ्बोले सरकारको अदूरदर्शिता र बजेट निर्माणमा देखिएको चरम लापरबाहीले संघीयता र प्रदेश संरचनामाथि नै प्रश्न उठाएको बताए ।

आगामी आर्थिक वर्ष २०८१÷८२ बजेटमाथिको छलफलमा भाग लिँदै आङ्बोले सरकारले ल्याएको बजेट पूर्ण रूपमा असफल भएको दाबी गरे । उनले बजेटलाई दिशाहीन, अनुत्पादक र वितरणमुखी को संज्ञा दिँदै यसले कोशी प्रदेशवासीको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने जिकिर गरे ।

नेता आङ्बोले बजेट निर्माणमा आसेपासे पूँजीवाद हावी भएको आरोप लगाए । उनका अनुसार सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यबीच कुनै तालमेल छैन। ‘सरकारले नीति तथा कार्यक्रममा एउटा कुरा भन्छ, तर विनियोजनमा त्यसको नामोनिसान हुँदैन,’ उनले भने ।

सबैभन्दा उदेकलाग्दो विषय त मुख्यमन्त्री आफैंले सार्वजनिक रूपमा बजेट बिग्रियोु भनेर स्वीकार गर्र्नु रहेको आङ्बोले औंल्याए । ‘बजेट इतिहासमै पहिलोपटक सरकार प्रमुखले नै बजेट बिग्रियो भनेर सार्वजनिक घोषणा गरेको सुन्नुपरेको छ। जुन बजेटको स्वामित्व मुख्यमन्त्रीले नै लिन सक्नुहुन्न, त्यो बजेट बोकेर मन्त्री र सांसदहरू कसरी हिँड्न सक्छन् ?’ उनले प्रश्न गरे । त्यस्तै, पर्यटन मन्त्रीले नै आफ्नै मन्त्रालयका योजना काटिएको भन्दै सार्वजनिक असन्तुष्टि व्यक्त गर्नु र अर्थमन्त्रीले बजेट संशोधन वा रकमन्तर गर्ने आश्वासन दिनुलाई आङ्बोले बजेट प्रणालीकै उपहास को रूपमा व्याख्या गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन विपरीत बजेट पारित नहुँदै संशोधनको कुरा गर्नुले सरकारको कानुनी अज्ञानता र अराजकता छर्लङ्ग पारेको उनको तर्क थियो ।


नेता आङ्बोले बजेटको कमजोरी औंल्याएकोमा सत्तापक्षका सांसदहरूको भने प्रशंसा गरेका छन् । आफ्नै सरकारले ल्याएको बजेटमा रहेका त्रुटि र असन्तुलनविरुद्ध विद्रोह गरेर मन्त्रीहरूलाई प्रतिबद्धता जनाउन बाध्य पारेकोमा उनले सत्तापक्षका सांसदहरूलाई धन्यवाद दिए । ‘तपाईंहरूको विद्रोहले कम्तीमा आगामी दिनमा मन्त्रीहरूले मनपरी गर्नु हुँदैन भन्ने बलियो शिक्षा दिएको छ,’ उनले भने ।

नेता आङ्बोले बजेट पारित भएपछि संशोधन वा रकमन्तर गर्ने आश्वासन दिएर प्रदेशलाई वित्तीय अराजकताको बाटोमा नलैजान सरकारलाई चेतावनी दिएका छन् । पारदर्शी ढंगले संसदभित्रै बजेटका त्रुटि सच्याउनुपर्नेमा अँध्यारो कोठामा बसेर गरिने सहमति आफूहरूलाई मान्य नहुने उनको प्रष्टोक्ति थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।