लोड हुँदैछ...

मेनु

विराटनगरको पुरानो भन्सारबाट तीन बिचौलिया पक्राउ

विराटनगरको पुरानो भन्सारबाट तीन बिचौलिया पक्राउ

विराटनगर । विराटनगरस्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगर १६ स्थित २ नम्बर डाट अगाडिबाट आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा विराटनगर–१३ सैनिक टोलका ६३ वर्षीय सुरेश कर्ण, विराटनगर–१ पोखरियाका ४४ वर्षीय सञ्जय केवट र विराटनगर–१५ त्रिभुवन टोलका ६७ वर्षीय नरेन्द्र थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी महेन्द्रकुमार मिश्रका अनुसार पुरानो भन्सार परिसरमा बसेर बिना इजाजत भारतीय नम्बर प्लेटका सवारीसाधनको बिल काट्ने र चालकहरूलाई अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

‘भारतीय गाडीहरू विराटनगर प्रवेश गर्दा पुरानो भन्सार अगाडिको यात्रु शाखामा राजस्व बुझाउनुपर्ने हुन्छ,’ डिएसपी मिश्रले भने, ‘त्यहाँ बसेर उनीहरूले चालकसँग बार्गेनिङ गर्ने र भनेजति पैसा नदिए हैरानी दिने गरेको पाइयो ।’

विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।