लोड हुँदैछ...

मेनु

फकल्यान्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिना विवादमा, के हो विवाद ?

फकल्यान्ड टापुको ब्यानर प्रदर्शनपछि अर्जेन्टिना विवादमा, के हो विवाद ?

विराटनगर । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको साविक विजेता अर्जेन्टिना खेलपछिको राजनीतिक सन्देशका कारण विवादमा तानिएको छ।

खेलपछि केही अर्जेन्टिनी खेलाडीले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

अर्जेन्टिनाका खेलाडीको यो कार्यपछि फिफाको अनुशासनात्मक कारबाहीको जोखिम बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाको एटलान्टामा बिहीबार विहान भएको सेमिफाइनलमा जितपछि डिफेन्डर लिसान्ड्रो मार्टिनेज र मिडफिल्डर जियोभानी लो सेल्सोसहितका खेलाडीले उक्त ब्यानर बोकेर समर्थकलाई अभिवादन गरेका थिए। ब्यानर मैदानमा कसरी पुग्यो भन्ने विषय भने खुल्न सकेको छैन।

फिफाको स्टेडियम आचारसंहिताले रंगशालाभित्र राजनीतिक, विभेदकारी वा आपत्तिजनक सन्देश भएका ब्यानर, झण्डा वा अन्य सामग्री प्रदर्शन गर्न निषेध गरेको छ। घटनाबारे फिफाले हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापुलाई बेलायतले आफ्नो विदेशी भूभागका रूपमा प्रशासन सञ्चालन गर्दै आएको छ। अर्जेन्टिनाले भने यसलाई ‘इस्लास माल्भिनास’ नामले चिनाउँदै आफ्नो सार्वभौम भूमि भएको दाबी गर्दै आएको छ।

यही विवादका कारण सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच ७४ दिन लामो युद्ध भएको थियो। युद्धमा ६५५ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक तथा टापुका तीन बासिन्दाको मृत्यु भएको थियो। युद्धपछि पनि बेलायतले टापुमाथिको नियन्त्रण कायम राखेको छ ।

सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि अर्जेन्टिनी खेलाडीले यही सन्देश भएको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो। त्यसबेला फिफाले यसलाई राजनीतिक गतिविधि र प्रतियोगिताको आचारसंहिता उल्लङ्घन भएको ठहर गरेको थियो।

सेमिफाइनलअघि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फुटबल र राजनीतिलाई मिसाउन नहुने बताएका थिए। उनले भनेका थिए, ‘यो फुटबलको खेल हो। विगतका दुःखद घटनाको सम्मान गर्दै पनि फुटबललाई राजनीतिसँग जोड्न चाहन्नँ। युद्धमा ज्यान गुमाउने सबैप्रति सम्मान छ, तर यो खेललाई राजनीतिक बहसको विषय बनाउनु हुँदैन।’

खेलपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समार्फत ब्यानर प्रदर्शनको समर्थन गरेकी छन्। उनले लेखेकी छन्, ‘उनीहरूले स्टेडियममा ब्यानर लैजान रोक लगाए, तर उनीहरूले बिर्सिए कि हामी माल्भिनासलाई आफ्नो रगत र हृदयमा बोकेर हिँड्छौं।’

इंग्ल्यान्डविरुद्धको जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको छ। अब उपाधिका लागि सोमबार बिहान स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।