लोड हुँदैछ...

मेनु

जेनजी आन्दोलनको आडमा ध्वस्त बनाइएको विराटनगरको भाटभटेनी सञ्चालनको तयारी

जेनजी आन्दोलनको आडमा ध्वस्त बनाइएको विराटनगरको भाटभटेनी सञ्चालनको तयारी

विराटनगर । गत भदौको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट करिब ११ महिनापछि पुनः सञ्चालनमा आउने भएको छ।

पुनर्निर्माण, मर्मतसम्भार र आधुनिक सुरक्षा मापदण्डसहित तयार पारिएको स्टोर आगामी असार २७ गते शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो ।

पुनः सञ्चालनको तयारीस्वरूप गत सोमबार सुपरमार्केट परिसरमा विशेष पूजा तथा गृहप्रवेश कार्यक्रम गरिएको थियो । अहिले बिक्री कक्षमा सामान व्यवस्थापन, विभागगत तयारी र सेवा सञ्चालनका अन्तिम काम तीव्र रूपमा अघि बढाइएको छ। व्यवस्थापन पक्षका अनुसार शुक्रबारसम्म सम्पूर्ण तयारी पूरा गरी शनिबार औपचारिक उद्घाटनसँगै सेवा सुरु गरिनेछ।

भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले विराटनगर शाखालाई पुनः सञ्चालनमा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै पुनर्निर्माणमा खटिएका मजदुर र कर्मचारीको योगदान अतुलनीय रहेको बताएकी छन् । ‘मौरीले जस्तै दिनरात खटिएर काम गर्ने मजदुर र कर्मचारीकै मेहनतले आज यो भवन फेरि उभिएको’ भन्दै उनले पुनर्निर्माणमा खटिएका करिब ३०० मजदुरलाई खादा ओढाएर नगदसहित सम्मान गरेकी थिइन् ।

२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी र तोडफोड हुँदा भवन, विद्युतीय प्रणाली, फर्निचर, बिक्रीका सामग्री तथा अधिकांश संरचना पूर्ण रूपमा नष्ट भएका थिए। त्यसपछि कम्पनीले पुरानो संरचनाको मर्मत मात्र नभई आधुनिक सुरक्षा प्रणाली, अत्याधुनिक विद्युतीय पूर्वाधार तथा ग्राहकमैत्री डिजाइनसहित पुनर्निर्माण गरेको जनाएको छ।

निर्माण अवधिभर करिब ३०० मजदुर, प्राविधिक तथा कर्मचारी निरन्तर खटिएका थिए। उनीहरूको निरन्तर मेहनतका कारण करिब ११ महिनामै स्टोर पुनः सञ्चालनयोग्य बनेको हो।

जेनजी आन्दोलनका क्रममा देशभर रहेका भाटभटेनीका २८ शाखामध्ये १२ वटा पूर्ण रूपमा ध्वस्त पारिएको थियो भने अन्य ९ वटा शाखामा तोडफोड, लुटपाट र व्यापक क्षति गरिएको थियो। कम्पनीका अनुसार उक्त घटनाबाट करिब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो।

ठूलो क्षति व्यहोरे पनि कम्पनीले कुनै पनि कर्मचारीलाई नहटाउने तथा सबै प्रभावित शाखा पुनर्निर्माण गरेर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । विराटनगर शाखा पुनः सञ्चालनमा आएपछि जेनजी आन्दोलनबाट प्रभावित शाखामध्ये पुनः सञ्चालनमा आउने यो आठौँ शाखा हुनेछ।

झापाको बिर्तामोडस्थित भाटभटेनीलाई पनि छिट्टै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको व्यवस्थापनले जनाएको छ। हाल कम्पनीका देशभर रहेका २८ शाखामा १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।