लोड हुँदैछ...

मेनु

अघोषित लोडसेडिङ र लो भोल्टेजले उद्योग संकटमा

अघोषित लोडसेडिङ र लो भोल्टेजले उद्योग संकटमा

विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ, बारम्बार हुने विद्युत ट्रिपिङ तथा न्यून भोल्टेज (लो भोल्टेज)का कारण उद्योग सञ्चालन नै प्रभावित भएको मोरङ उद्योग व्यापार संघले जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै उद्योग क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्न र उद्योगीलाई भरपर्दो विद्युत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ।

संघका अनुसार वर्षायाममा पर्याप्त विद्युत उत्पादन हुने समयमै उद्योगहरूले अनिर्धारित, अनियमित र अघोषित रूपमा विद्युत अवरोध भोग्नुपरेको छ। कुनै पूर्वसूचनाविना दिनमै पटक–पटक हुने ट्रिपिङ, लो भोल्टेज तथा अघोषित लोडसेडिङले उद्योग सञ्चालनमा गम्भीर अवरोध सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा उल्लेखनीय सुधार भएको दाबी गरिरहेको भएपनि वास्तविकतामा उद्योगहरूले दैनिक घण्टौंसम्म अनिश्चित विद्युत आपूर्तिको सामना गर्नुपरेको संघको भनाइ छ। यसले उत्पादन तालिका प्रभावित हुनुका साथै उद्योग सञ्चालनको लागतसमेत बढाएको जनाएको छ।

संघले विद्युतको अनियमित आपूर्तिका कारण उद्योगहरूमा जडान गरिएका करोडौं रुपैयाँ मूल्यका अत्याधुनिक मेसिन, इलेक्ट्रोनिक कन्ट्रोल प्यानल, सफ्टवेयर प्रणाली तथा विभिन्न पार्टपुर्जामा बारम्बार क्षति पुगिरहेको उल्लेख गरेको छ। विद्युत आउने–जाने क्रम निरन्तर दोहोरिँदा उपकरण बिग्रिने, मर्मत गर्नुपर्ने र उत्पादन बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको संघले जनाएको छ।

विशेषगरी प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरू सबैभन्दा बढी प्रभावित भएको संघको भनाइ छ। उत्पादन प्रक्रियाकै बीचमा विद्युत आपूर्ति अवरुद्ध हुँदा मेसिनभित्र रहेका कच्चा पदार्थ डढ्ने, बिग्रिने वा प्रयोग गर्न नमिल्ने हुने भएकाले करोडौं रुपैयाँ बराबरको उत्पादन खेर जाने अवस्था आएको जनाइएको छ।

विद्युत आपूर्ति अनियमित हुँदा उद्योगमा कार्यरत हजारौं श्रमिक कामविहीन भएर बस्नुपर्ने अवस्था आएको छ। तर, उद्योगहरूले श्रमिकको पारिश्रमिक, बैंकको ब्याज, सञ्चालन खर्च तथा अन्य नियमित दायित्व भने यथावत् व्यहोर्नुपर्ने बाध्यता रहेको संघले जनाएको छ। यसले स्वदेशी उद्योगको उत्पादन क्षमता, प्रतिस्पर्धात्मकता र लगानीको वातावरण कमजोर बन्दै गएको संघको निष्कर्ष छ।

संघका अनुसार उत्पादन समयमा हुन नसक्दा बजारमा वस्तुको अभाव सिर्जना हुने, ग्राहकको माग पूरा गर्न नसक्दा उद्योगको विश्वसनीयता घट्ने र त्यसको प्रत्यक्ष लाभ आयातित वस्तुले उठाउने जोखिम बढ्दै गएको छ। यसले स्वदेशी उत्पादनलाई थप कमजोर बनाउने चेतावनी पनि संघले दिएको छ।

देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको औद्योगिक क्षेत्रलाई बिनापूर्वसूचना अन्धकारमा राख्नु र उद्योगी व्यवसायीका समस्याप्रति बेवास्ता गर्नु अत्यन्तै दुःखद भएको उल्लेख गर्दै संघले नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायसँग अघोषित लोडसेडिङ, लो भोल्टेज र बारम्बार हुने ट्रिपिङको समस्या तत्काल अन्त्य गर्न माग गरेको छ। साथै, प्राविधिक कारणले विद्युत आपूर्ति बन्द गर्नुपर्ने अवस्था आएमा उद्योग व्यवसायलाई समयमै पूर्वसूचना उपलब्ध गराउन, विद्युत वितरण प्रणालीको क्षमता विस्तार गर्न तथा स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि जिम्मेवार ढंगले काम गर्न संघले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।