लोड हुँदैछ...

मेनु

अविरल वर्षाले कोशीका मुख्य सडक अवरुद्ध

अविरल वर्षाले कोशीका मुख्य सडक अवरुद्ध

विराटनगर । अविरल वर्षा र बाढीका कारण कोशी प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी तथा सम्बन्धित निकायले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आज बिहानसम्म कोशी प्रदेशका तीनवटा मुख्य सडक खण्डमा आवागमन प्रभावित भएको छ।

कोशी प्रदेशको इलामस्थित मेची राजमार्गको राजदुवाली खण्ड असार २३ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नावाखोलामा आएको बाढीका कारण तमोर कोरिडोर सडक खण्ड आजैदेखि पूर्ण रूपमा ठप्प भएको छ। भोजपुरको मध्य पहाडी लोकमार्ग अन्तर्गत बोखिम खण्डमा बाढीले क्षति पुर्‍याएका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ। त्यहाँ वैकल्पिक बाटोको समेत प्रयोग गर्न सकिने जानकारी दिइएको छ।

कोशी प्रदेश बाहिर पनि सडकको अवस्था निकै प्रभावित छ। बागमती प्रदेशको काभ्रेमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वि.पि. राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सडक मर्मत भइरहेका कारण कुलेखानी–फाखेल–फर्पिङ–काठमाडौँ सडक खण्ड आज २५ गतेसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

यसैगरी, लुम्बिनी प्रदेशको पाल्पा–गुल्मी सडक खण्डको मालमुलमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी कोरिडोरको रिजगार्ड खण्डमा गत असार १७ गतेदेखि नै बाढीका कारण यातायात सेवा ठप्प रहेको छ। वर्षा जारी रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न र उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।