लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा मध्यम वर्षा, अन्य प्रदेशमा कस्तो रहला मौसम ?

कोशी प्रदेशमा मध्यम वर्षा, अन्य प्रदेशमा कस्तो रहला मौसम ?

विराटनगर । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले कोशी प्रदेश लगायत मुलुकका विभिन्न भागमा वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाले आज कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत जोखिम रहेको छ।

कोशी प्रदेशसँगै अन्य प्रदेशहरूमा पनि आज मौसम बदली र वर्षाको प्रभाव रहने महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने र बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने आज दिउँसो हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति देशभर अधिकांश बादल लाग्ने र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने देखिएको छ। कर्णाली प्रदेशका पहाडी भूभागमा पनि थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।