विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत एक सयभन्दा बढी खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई नगदसहित सम्मान गरेको छ ।
बुधबार विराटनगरमा आयोजित एक विशेष समारोहका बीच विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक जितेर प्रदेशको सान बढाउने खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल क्षेत्रका योगदानकर्ताहरूलाई पुरस्कृत गरिएको हो ।
बोर्डले प्रतियोगिताको स्तर र प्राप्त पदकका आधारमा नगद पुरस्कार वितरण गरेको छ । एसबीआई प्रथम दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा उपविजेता बनेको कोशी प्रदेश टोलीका सदस्यहरू प्रतिभा राई र सुनिता भुजेललाई जनही १ लाख रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, टोलीका प्रशिक्षक नरेन्द्र निरौलालाई २५ हजार रुपैयाँसहित सम्मान गरियो ।
विभिन्न विधाका राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीहरूले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । यसरी सम्मानित हुनेहरूमा राष्ट्रिय कुस्ती, ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ, ४६औँ राष्ट्रिय एथलेटिक्स, २०औँ राष्ट्रिय जुडो, २५औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो, एनएसए कप पौडी, राष्ट्रिय बुद्धिचाल, नेकोस राष्ट्रिय महिला क्रिकेट र ४२औँ राष्ट्रिय टेबलटेनिसका विजेताहरू रहेका छन् । ती विधाका प्रशिक्षक र व्यवस्थापकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए ।
जुनियरतर्फ राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिपका रजत विजेतालाई ८ हजार र कास्य विजेतालाई ६ हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै, दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यू–२३ सिंगल्स ९क्लास–७० मा रजत पदक जित्न सफल स्वीकृत न्यौपानेलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
१३ अग्रज खेलकर्मीलाई दीर्घसेवा सम्मान
खेलकुद क्षेत्रमा लामो समय योगदान पुर्याएका १३ जना अग्रज खेलकर्मीहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्रले विभूषित गरिएको छ । सम्मानित हुनेहरूमा पार्थ सारथी सेन गुप्ता र गणेशप्रसाद दुलाल (भारोत्तोलन), नारायण यादव र नारायणबहादुर प्रधान (एथलेटिक्स), उदयकुमार अर्याल (ब्याडमिन्टन), कुलबहादुर गुरुङ (तेक्वान्दो), विकेन थापा (टेबलटेनिस), मनिष तिम्सिना र भगिरथ आले (फुटबल), कुविरमान राई र कुशल श्रेष्ठ (कराते), गंगाबहादुर खड्का (जुडो) तथा राजेन्द्र धिमाल (आईटीएफ तेक्वान्दो) रहेका छन् ।
पाँच पत्रकार र कर्मचारी पुरस्कृत
खेल पत्रकारिताका माध्यमबाट प्रदेशको खेलकुद विकासमा योगदान पुर्याएका पाँचजना पत्रकारलाई जनही ११ हजार रुपैयाँसहित सम्मान गरिएको छ । सम्मानित हुने पत्रकारहरूमा विनोद भण्डारी (मोरङं), अर्जुन सुवेदी र अमर काफ्ले (सुनसरी), नवराज कार्की (ओखलढुंगा) र नमिन ढकाल (इलाम) रहेका छन् ।
यसैगरी, नेपाली क्रिकेट टोलीका व्यवस्थापक अर्जुन पौडेल तथा बोर्डका कर्मचारीहरू विमल पोखरेल, राजीव सुवेदी र नरकुमार बस्नेतलाई पनि जनही १० हजार रुपैयाँसहित उत्कृष्ट कार्यसम्पादन पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरूलाई बोर्डका अध्यक्ष एवं सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्तराज अर्याल र सदस्यसचिव विप्लव घोष लगायतले पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।