लोड हुँदैछ...

मेनु

एक वर्षअघिको रहस्यमय मृत्यु प्रकरण : किशोरको हत्या आरोपमा वडाध्यक्ष पक्राउ

एक वर्षअघिको रहस्यमय मृत्यु प्रकरण : किशोरको हत्या आरोपमा वडाध्यक्ष पक्राउ

पाँचथर । करिब एक वर्षअघि आफ्नै घरमा काम गर्ने १५ वर्षीय किशोर रहस्यमय अवस्थामा मृत फेला परेको घटनामा नयाँ मोड आएको छ ।

प्रारम्भिक अनुसन्धानपछि शंकास्पद मृत्युका रूपमा रहेको घटनामा प्रहरीले कर्तव्य ज्यान मुद्दा अघि बढाउँदै फाल्गुनन्द गाउँपालिका–७ का वडाध्यक्ष देउकुमार आङदेम्बेलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारीअनुसार आङदेम्बेलाई जिल्ला अदालत पाँचथरबाट पक्राउ अनुमति लिएपछि फिदिम बजारबाट नियन्त्रणमा लिइएको हो । अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर उनीमाथि विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटना २०८१ असार १४ गतेको हो। फाल्गुनन्द गाउँपालिका–७ का अन्दाजी १५ वर्षीय टठेनहाङ आङदेम्बे, जो वडाध्यक्ष आङदेम्बेको घरमा काम गर्दै आएका थिए, बिहान आफ्नै सुत्ने स्थानमा मृत अवस्थामा फेला परेका थिए। उनको नाक र मुखबाट रगत बगेको अवस्थामा शव भेटिएपछि घटनाले स्थानीय तहमा ठूलो चासो पैदा गरेको थियो।

घटनाको दिन नै मृतकका बुवा खेमबहादुर आङदेम्बेले जिल्ला प्रहरी कार्यालय पाँचथरमा ज्यान सम्बन्धी कसुरमा लिखित जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान थाले पनि लामो समयसम्म कुनै व्यक्तिविरुद्ध पक्राउ प्रक्रिया अघि बढेको थिएन।

घटनामा थप अनुसन्धानका क्रममा मृतककी आमा लालकुमारी चेम्जोङले २०८३ असार ८ गते वडाध्यक्ष देउकुमार आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। सोही जाहेरी र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा जिल्ला अदालत पाँचथरले २०८३ असार १० गते आङदेम्बेविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो।

अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले उनलाई फिदिम नगरपालिका–४ स्थित फिदिम बजारबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनासँग सम्बन्धित सबै पक्षको बयान, उपलब्ध प्रमाण, पोस्टमार्टम प्रतिवेदन तथा अन्य प्राविधिक पक्षलाई आधार बनाएर अनुसन्धान भइरहेको छ।

पक्राउ परेका वडाध्यक्षलाई अदालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।प्रहरीले अनुसन्धान जारी रहेकाले घटनाबारे थप विवरण प्रमाणका आधारमा क्रमशः सार्वजनिक गरिने जनाएको छ। हालसम्म वडाध्यक्ष आङदेम्बेविरुद्ध आरोपको अन्तिम कानुनी पुष्टि भने भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।