लोड हुँदैछ...

मेनु

गाँजासहितको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा बेपत्ता

गाँजासहितको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा बेपत्ता

विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीमा गाँजा बोकेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा चालक फरार हुने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका छन्।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका छन् । मोटरसाइकलमा पछाडि सवार एक भारतीय नागरिक भने गाँजासहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान करिब ८ः५० बजे अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा आउँदै गरेको बीआर ५० एएल ३६८७ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्न खोजेको थियो। मोटरसाइकलमा दुई जना सवार थिए।

प्रहरीले रोक्न संकेत गरेलगत्तै चालकले मोटरसाइकल घटनास्थलमै छाडेर भाग्ने प्रयास गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार फरार हुने क्रममा विराटनगर–१८ निवासी मञ्जितकुमार यादव स्थानीय भेडियारी पोखरीमा हाम फालेर डुबेका छन् ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पोखरीमा व्यापक खोजी अभियान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक प्रवीण घिमिरेको नेतृत्वमा टोली परिचालन गरिएको छ भने सशस्त्र प्रहरी बलको बीओपी जहदा–भुटाहाबाट प्रहरी निरीक्षक तारानाथ गौतमको नेतृत्वमा अर्को टोली खोजीमा खटिएको छ।

मोटरसाइकलको पछाडि सवार भारतको बिहार राज्य, सुपौल जिल्ला गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी श्रेष्ठका अनुसार शिवधर यादवले बोकेको झोला जाँच गर्दा लुकाइछिपाइ राखिएको ६ किलो १३० ग्राम गाँजा बरामद भएको छ।

बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। प्रहरीले लागूऔषध ओसारपसार, मोटरसाइकलको स्रोत तथा बेपत्ता भएका चालकको भूमिकासहित घटनाका सबै पक्षमा अनुसन्धान अघि बढाएको जनाएको छ। साथै पोखरीमा बेपत्ता भएका मञ्जितकुमार यादवको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।