धरान । उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्ने बिरामीलाई भ्रममा पारेर निजी अस्पतालमा पठाई कमिसन असुल्ने गिरोहमाथि प्रहरीले कारबाही थालेको छ।
विशेष निगरानीका क्रममा सुनसरी प्रहरीले प्रतिष्ठानबाट १२ जना बिचौलियालाई पक्राउ गर्दै उनीहरूको सञ्जालमाथि विस्तृत अनुसन्धान सुरु गरेको छ।
प्रतिष्ठानको इमर्जेन्सी, ओपीडी, रेडियोलोजी, ल्याब तथा विभिन्न वार्डमा सक्रिय बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले थप १० जनालाई पक्राउ गरेको हो। यसअघि मंगलबार झापाको दमक–१ का ४२ वर्षीय प्रवीण पोखरेल र सुनसरीको हरिनगरा–४ का २७ वर्षीय दीपक राम पक्राउ परिसकेका थिए। योसँगै पक्राउ पर्नेको संख्या १२ पुगेको छ।
पक्राउ पर्नेमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज–६ की २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ–३ का २९ वर्षीय साबिन किराँती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इनरुवा–२ का ३१ वर्षीय रोहित मेहता तथा धरान–११ का १८ वर्षीय विनोद भट्टराई रहेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा उनका आफन्तलाई ‘यहाँ उपचार राम्रो हुँदैन, डाक्टर उपलब्ध छैनन्, पालो आउन धेरै समय लाग्छ, मेसिन बिग्रिएका छन्’ जस्ता भ्रमपूर्ण सूचना दिएर निजी अस्पताल, नर्सिङ होम, क्लिनिक तथा मेडिकलमा पठाउने गरेका थिए।
मंगलबार पक्राउ परेका प्रवीण पोखरेल र दीपक राममाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बुधबार पक्राउ परेका अन्य १० जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले पोखरेल र रामको मोबाइल तथा साथमा रहेका सामग्री जाँच गर्दा विराटनगरस्थित आर्या न्यूरो अस्पतालका भिजिटिङ कार्ड, विभिन्न सरकारी अस्पतालका बिरामीको प्रेस्क्रिप्सन र डिस्चार्ज कागजातका तस्वीर, बिरामीको नाम, उमेर, रोगसम्बन्धी विवरण अन्य व्यक्तिलाई पठाइएका सन्देश तथा एम्बुलेन्स चालकहरूको सम्पर्क विवरणसमेत फेला परेको जनाएको छ। यी प्रमाणका आधारमा बिचौलियाको गतिविधि संगठित रूपमा सञ्चालन भइरहेको प्रहरीको निष्कर्ष छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाबाट दैनिक चार हजारभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गर्छन्। प्रतिष्ठानकाके इमर्जेन्सी, जनरल ओपीडी, इन्टर्नल मेडिसिन, हाडजोर्नी, आँखा, स्त्री तथा प्रसूति, बालरोग, मुटु, श्वासप्रश्वास, कलेजो, क्यान्सर, न्युरो, रेडियोलोजीलगायतका विभागमा ५० जनाभन्दा बढी बिचौलिया लामो समयदेखि सक्रिय छन्।
चिकित्सकले मात्रै आवश्यक परे बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने व्यवस्था भएपनि बिचौलियाले बिरामी अस्पतालभित्रै अलमलिएको अवस्थामा भेटेर निजी अस्पतालमा जान उक्साउने गरेका छन्। धेरै बिरामी तथा आफन्तले चिकित्सकले दिएको पुर्जी वा सिफारिस राम्रोसँग नपढ्ने भएकाले उनीहरू बिचौलियाको प्रभावमा पर्ने गरेका छन्।
प्रहरीले पक्राउ परेकाहरू एक्लाएक्लै नभई संगठित गिरोहका रूपमा काम गरिरहेको आशंका गरेको छ। केही निजी अस्पताल, औषधि पसल, एम्बुलेन्स चालक तथा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भन्दै अनुसन्धानको दायरा विस्तार गरिएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।