लोड हुँदैछ...

मेनु

बाह्र वर्ष जेल बसेर छुटेका नुर महम्मद पेस्तोलसहित पक्राउ

बाह्र वर्ष जेल बसेर छुटेका नुर महम्मद पेस्तोलसहित पक्राउ

विराटनगर । १२ वर्ष कैद सजाय भुक्तान गरेर छुटेका मोरङका नुर महम्मद पुनः अवैध हतियारसहित पक्राउ परेका छन्।

सुनसरी प्रहरीले बुधबार राति गढी गाउँपालिका–१ मधेली झण्डा चोकबाट लोड गरिएको चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अर्का व्यक्ति पनि यसअघि चोरी मुद्दामा प्रहरी अनुसन्धानमा परिसकेका व्यक्ति रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका दुई जनालाई रोक्दै शरीर खानतलासी गरेको थियो।

तलासीका क्रममा मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती निवासी ५१ वर्षीय नुर महम्मदको साथबाट एक थान चाइनिज पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्याग्जिन तथा लोड गरिएको तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। नुर महम्मदसँगै रहेका विराटनगर महानगरपालिका–८ अशोक चोक निवासी ३२ वर्षीय इमरान खान भनिने मोहम्मद अहमदलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नुर महम्मद यसअघि २०६४ कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय मोरङमा हातहतियार तथा खरखजाना र जबर्जस्ती करणी उद्योग८ सम्बन्धी मुद्दामा पक्राउ परेका थिए। अदालतबाट दोषी ठहर भई उनले १२ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।

पक्राउ परेका इमरान खान उर्फ मोहम्मद अहमदमाथि २०७५ चैत १९ गते जिल्ला प्रहरी कार्यालय मोरङमा चोरी मुद्दा दर्ता भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीले बरामद गरिएको हतियारको स्रोत, त्यसलाई कहाँ र कुन उद्देश्यका लागि प्रयोग गर्न लागिएको थियो तथा उनीहरूको अन्य आपराधिक समूहसँग कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दुहवीको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।