लोड हुँदैछ...

मेनु

मौद्रिक नीतिप्रति निराशा, नेप्से ३० अंकले घट्यो; कारोबार रकम भने बढ्यो

मौद्रिक नीतिप्रति निराशा, नेप्से ३० अंकले घट्यो; कारोबार रकम भने बढ्यो

विराटनगर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले लगानीकर्ताको अपेक्षा पूरा गर्न नसक्दा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो दबाबमा परेको छ।

अघिल्लो दिन मौद्रिक नीति सार्वजनिक भएपछि बजारमा सकारात्मक उत्साह देखिए पनि नीति अपेक्षाभन्दा कम लचिलो रहेको निष्कर्षमा पुगेका लगानीकर्ताले बिक्री चाप बढाएपछि नेप्से परिसूचक ३०.०९ अंकले घट्दै २६२१.५९ विन्दुमा झरेको हो।

बजार विश्लेषकका अनुसार सेयर धितो कर्जा, ब्याजदर, तरलता व्यवस्थापन तथा पुँजी बजारलाई प्रत्यक्ष टेवा पुग्ने थप नीतिगत व्यवस्था आउने अपेक्षा गरिएको थियो। तर मौद्रिक नीतिमा त्यस्ता नयाँ र प्रभावकारी व्यवस्था नदेखिएपछि लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ।

नेप्सेसँगै अधिकांश सूचक पनि ओरालो लागेका छन्। यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक, फ्लोट इण्डेक्स २.०६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अंकले घटेका छन्, जसले बजारका ठूला तथा प्रभावशाली कम्पनीहरूमा समेत बिक्री दबाब रहेको संकेत गरेको छ।

यद्यपि बजार घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३६२ कम्पनीका ८४ लाख ६३ हजार कित्ता सेयर ७७ हजार ६२७ पटक किनबेच हुँदा कुल ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यसले बजारमा सक्रियता कायम रहे पनि खरिदभन्दा बिक्री पक्ष हाबी भएको देखाउँछ।

बुधबार मूल्य बढ्ने कम्पनीहरूको संख्या सीमित रह्यो। कुनै पनि कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा माथि उक्लिन सकेन। विपरीत, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.४१ प्रतिशतले घट्यो। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतभन्दा बढीले ओरालो लाग्दा सानिगाड हाइड्रोपावरको सेयर मूल्य पनि करिब ६.५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा भने ऋणपत्र (डिबेञ्चर) हरूको वर्चस्व देखिएको छ। ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को मात्रै ६२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को ४३ करोड रुपैयाँभन्दा बढी तथा ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को करिब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

क्षेत्रगत रूपमा पनि बजारमा व्यापक गिरावट देखिएको छ। कारोबारमा सहभागी १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह मात्रै सामान्य रूपमा हरियो रह्यो भने बाँकी १२ उपसमूह राताम्मे बने। सबैभन्दा धेरै जलविद्युत उपसमूह १.७० प्रतिशतले घटेको छ। त्यसैगरी बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा तथा अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।

बजार जानकारहरूका अनुसार मौद्रिक नीतिप्रतिको प्रारम्भिक प्रतिक्रिया स्वरूप देखिएको यो गिरावट आगामी केही दिनसम्म पनि कायम रहन सक्छ। अब लगानीकर्ताको ध्यान सरकारको वित्तीय नीति कार्यान्वयन, बैंकिङ प्रणालीको तरलता, ब्याजदरको अवस्था तथा सूचीकृत कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरणतर्फ केन्द्रित हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।