विराटनगर । विभिन्न प्रशासनिक तथा प्राविधिक अड्चनका कारण विगत दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै मंगलबारदेखि चिया बोकेका ट्रकहरू भारतीय बजार प्रस्थान गर्न थालेका हुन् ।
भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले आयातसम्बन्धी नीतिमा परिमार्जन गरेपछि निर्यातको बाटो खुलेको हो । नयाँ व्यवस्थाअनुसार अब नेपालबाट जाने चियाको शतप्रतिशत नमुना परीक्षण गर्नुको सट्टा केवल २० प्रतिशत खेपको मात्र ‘र्यान्डम’ परीक्षण गरिनेछ । यसअघि प्रत्येक खेपको कडा परीक्षण गर्ने झन्झटिलो नियमका कारण निर्यात ठप्प हुँदा नेपाली व्यवसायीले ठूलो आर्थिक नोक्सानी बेहोर्दै आएका थिए ।
मेची भन्सार कार्यालयका अनुसार पछिल्लो दुई दिनमा ५ ट्रक चिया भारततर्फ निकासी भइसकेको छ । भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले नाकाबाट निर्यातमा अब कुनै पनि कानुनी वा प्रशासनिक व्यवधान नरहेको जानकारी दिए । हाल पहाडी क्षेत्रको अर्थोडक्स चियाको निर्यात तीव्र भए पनि तराईको सीटीसी चिया भने मूल्यको मोलतोल भइरहेकाले केही दिनमा जाने व्यवसायीहरूले बताएका छन् ।
निर्यातमा देखिएको अवरोधका कारण झापा र इलामका ९९ वटा चिया उद्योग बन्द भएका थिए भने करिब १३ लाख किलो तयारी चिया गोदाममै थन्किएको थियो । बजार नपाएर हरियो पत्ती बगानमै खेर जान थालेपछि किसान र मजदुर आन्दोलित बनेका थिए । प्रधानमन्त्री कार्यालय र कूटनीतिक तहको पहलपछि भारतीय पक्ष मापदण्ड खुकुलो बनाउन तयार भएको हो ।
नेपाली चियाको गुणस्तर दार्जिलिङको भन्दा राम्रो र मूल्य सस्तो भएकाले भारतीय पक्षले पटक–पटक अवरोध सिर्जना गर्ने गरेको व्यवसायीहरूको गुनासो छ । यसको दीर्घकालीन समाधानका लागि भारतसँग ‘जी–टु–जी’ सम्झौता गर्न र तेस्रो मुलुकको बजार खोज्न सरकारले अग्रसरता लिनुपर्ने माग चिया उद्यमीहरूको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।