विराटनगर । तेह्रथुमको आठराई चुहानडाँडा–६, सिमखर्कमा एक महिलाको विभत्स हत्या भएको छ । ३८ वर्षीय छिमेकी कृष्ण पन्धाक लिम्बुले ५२ वर्षीया रुपा कन्दङ्वाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक काजी बहादुर बस्नेतका अनुसार सामान्य विवादका कारण लिम्बुले कन्दङ्वामाथि धारिलो हतियार प्रहार गरेका थिए । हत्याको यकिन कारण भने अझै खुल्न सकेको छैन । ‘अहिलेसम्म सामान्य विवाद भन्ने बुझिएको छ, तर जग्गाजमिन वा आर्थिक लेनदेन के हो भन्ने प्रष्ट भइसकेको छैन,’ प्रहरी निरीक्षक बस्नेतले भने ।
घटना हुँदा मृतक रुपा घरमा एक्लै रहेको बुझिएको छ । उनका श्रीमान् घरबाट करिब दुई घण्टाको पैदल दुरीमा रहेको खेतमा काम गर्न गएका थिए भने छोराछोरीहरु अध्ययनका लागि धरानमा बस्दै आएका छन् । एक्लै भएको मौका छोपी लिम्बुले हतियार प्रहार गरेको र घटना भएको करिब एक घण्टापछि मात्रै छिमेकीहरुले जानकारी पाएको प्रहरीले जनाएको छ ।
हत्यापछि आरोपी कृष्ण पन्धाक लिम्बु फरार भएका छन् । प्रहरीले फरार अभियुक्तको खोजी कार्य तीव्र पारेको छ । प्रहरी निरीक्षक बस्नेतका अनुसार अभियुक्त पक्राउ नपर्दासम्म हत्याको वास्तविक कारण खुल्न सक्ने छैन । नातामा उनीहरु देवरभाउजु हुन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।