विराटनगर । झापाको दमक नगरपालिकामा श्रीमान–श्रीमतीबीचको विवादले उग्र रूप लिँदा दुवै जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा न १ सिरपालि चोक बस्ने ४२ वर्षीय धन बहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती बिजय कुमारी दर्जीको आपसी झगडाका कारण ज्यान गएको हो।
प्रहरीका अनुसार आज दिउँसो करिब २ बजेको समयमा उनीहरूबीच सामान्य भनाभन भएको थियो। सोही क्रममा आवेगमा आएका धन बहादुरले श्रीमती बिजय कुमारीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट टाउको र बायाँ हातमा गम्भीर चोट लागेकी बिजय कुमारी बोल्न नसक्ने अवस्थामा पुगेकी थिइन्।
श्रीमतीलाई गम्भीर घाइते बनाए लगत्तै धन बहादुरले सोही घरको अर्को कोठामा गई सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। सोही समयमा उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले बुबालाई झुण्डिएको अवस्थामा फेला पारी पासो काटेर प्रहरीलाई खबर गरेकी थिइन्।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याएपछि चेकजाँचका क्रममा दिउँसो साढे ३ बजे डाक्टरले दुवैलाई मृत घोषणा गरेका थिए।
हाल दुवैको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।