विराटनगर। मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा थप एक शिक्षक पक्राउ परेका छन्। यससँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रका अनुसार फरार रहेका सङ्गीत शिक्षक भीम नेपाललाई सोमबार साँझ पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छेदार र बस चालक प्रदीप भट्टराईलाई सोमबार बिहान पक्राउ गरेको थियो। उनीहरूलाई सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
डीएसपी मिश्रका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाइने तयारी भइरहेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान जारी रहेको उनले बताए।
विद्यालयले यसअघि शिक्षक अविरल मास्के, सङ्गीत शिक्षक भीम नेपाल र बस चालक प्रदीप भट्टराईलाई आचरणविपरीत कार्य गरेको आरोपमा निलम्बन गरेको जनाएको छ। यस प्रकरणमा विद्यालयका प्रधानाध्यापक हिक्मत बस्नेतसहित अन्य केही शिक्षकको नाम पनि सामाजिक सञ्जालमा जोडिएपछि प्रहरीले सार्वजनिक भएका सामग्रीको सत्यता र सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले घटनाको वास्तविकता अनुसन्धानबाट खुल्ने भएकाले अपुष्ट सूचना वा आरोपहरूलाई तथ्यका रूपमा प्रचार नगर्न सबैसँग आग्रह गरेको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।