काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचार पूरा गरी स्वदेश फर्किने भएका छन्। केही महिनादेखि उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहेका देउवाले एक अपिल जारी गर्दै आफू स्वदेश फर्किन लागेको जानकारी दिएका हुन्।
विज्ञप्ति जारी गर्दै देउवाले विदेशमा रहे पनि आफ्नो ध्यान र चिन्ता सधैं देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको उल्लेख गरेका छन्। उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको समेत जनाएका छन्।
स्वदेश फर्किने तयारीमा रहेका देउवाले वर्तमान सरकारको राजनीतिक कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले हालैका दिनमा राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिपक्षलाई दबाउने प्रवृत्ति बढेको आरोप लगाएका छन्। ‘आज फरक विचारप्रतिको असहष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन, साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूमाथि दबाब सिर्जना गर्न खोजेको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायलाई राजनीतिक औजारका रूपमा प्रयोग गर्न खोजेको दाबी समेत गरेका छन्। यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि नेपाली कांग्रेसको जिम्मेवारी थप बढेको उनको भनाइ छ।
जननायक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ उल्लेख गर्दै देउवाले बीपीको मेलमिलापको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापको सिद्धान्त नै कांग्रेसको मूल मार्गदर्शक रहेको चर्चा गर्दै उनले यस मूल्य मान्यतामा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। देशलाई विभाजन र अविश्वासभन्दा पनि सहकार्य र एकताको आवश्यकता रहेको औंल्याउँदै उनले प्रतिशोधको राजनीति त्यागेर राष्ट्र निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन्।
सभापति देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र राष्ट्रप्रेमप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन नागरिक समाज, युवा पुस्ता र आम जनतालाई आह्वान गरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।