विराटनगर । उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा चार हजार ९९ वटा मुद्दा फैसला गरेको छ।
अदालतले आइतबार आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्ष सात हजार १५७ वटा मुद्दा दर्ता भएको जानकारी दिएको छ। तीमध्ये हालसम्म तीन हजार ५८ वटा नियमित र १८ महिना नाघेका ८७ वटा गरी तीन हजार १४५ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन्।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा अदालतका धेरै मुद्दाका मिसिल जलेका कारण फैसला प्रक्रियामा ढिलाइ भएको बताए।
उनका अनुसार हाल विचाराधीन रहेका ४७ वटा मुद्दाका मिसिल अझै प्राप्त हुन सकेका छैनन्। आन्दोलनका क्रममा करिब ७० हजार मुद्दाका अभिलेख जलेको र तीमध्ये एक हजार ६०० वटा मुद्दाको पुनः मिसिल खडा गरिएको अदालतले जनाएको छ।
पत्रकार सम्मेलनमा अदालतले गत आर्थिक वर्षको फैसला विवरण, व्यवस्थापकीय सुधार तथा न्यायिक सेवा प्रभावकारी बनाउन गरिएका विभिन्न कार्यक्रमबारे पनि जानकारी गराएको थियो।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।