धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालन भइरहेका ३५ वटा औषधि पसल सिलबन्दी गरिएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा नगरेका तथा विभिन्न अनियमितता भेटिएपछि संयुक्त अनुगमन टोलीले पसलहरूमा सिलबन्दी गरेको हो।
इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले असार अन्तिम सातादेखि प्रतिष्ठान परिसरका औषधि पसलहरूको अनुगमन सुरु गरेको थियो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार सोमबारसम्म गरिएको अनुगमनका क्रममा आवश्यक कानुनी कागजात नभएका, अन्य व्यक्तिको नाममा सञ्चालन भएका, दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेका, व्यवसाय नवीकरण नगरेका तथा अनुगमन टोली पुग्ने जानकारी पाएपछि पसल बन्द गरी सम्पर्कविहीन भएका औषधि पसलमाथि कारबाही गरिएको हो।
अनुगमन प्रक्रियामा असहयोग गर्ने पसलहरूलाई समेत सिलबन्दी गरिएको प्रहरीले जनाएको छ। सिलबन्दी गरिएका पसलका सञ्चालकलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजात परीक्षणपछि प्रचलित कानुनअनुसार थप कारबाही अघि बढाइने प्रशासनले जनाएको छ।
गत महिना प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि जिल्ला प्रशासन कार्यालयले औषधि पसल तथा अन्य सेवा प्रदायकमाथिको अनुगमन तीव्र बनाएको हो। प्रशासनले कानुनी मापदण्ड पूरा गरेर मात्रै औषधि व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।