विराटनगर । केन्द्रमा एमालेसँगको सत्ता समीकरणमा खटपट सुरु भएसँगै कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले आजै राजीनामा दिने प्रबल सम्भावना देखिएको छ। सुदूरपश्चिम प्रदेशमा एमालेसँगको सहकार्यमा देखिएको असहजताका कारण कांग्रेसले सातै प्रदेशका सरकारहरूबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेपछि कोशीमा पनि त्यसको प्रत्यक्ष असर देखिएको हो।
सरकारमा सहभागिताको विषयमा ठोस निर्णय लिन कोशी प्रदेश कांग्रेसले आजै बिहान ११ बजे बैठक बोलाएको छ। यो बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने औपचारिक निर्णय गर्ने बुझिएको छ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सुदूरपश्चिममा एमालेले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिका कारण अब एमालेसँगको गठबन्धनलाई निरन्तरता दिन नसकिने स्पष्ट पारिसकेका छन्। घिमिरेका अनुसार भोलिसम्ममा एमाले नेतृत्वका सबै प्रदेश सरकारबाट कांग्रेस बाहिरिने तयारी छ।
कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच विभिन्न सांगठनिक मुद्दामा मतभेद रहे पनि वर्तमान सरकारबाट बाहिरिने विषयमा भने दुवै पक्षबीच एकमत देखिएको छ। सत्ताबाट बाहिरिने र प्रतिपक्षमा बस्ने वा नयाँ समीकरण खोज्ने भन्नेमा दलभित्र खासै विवाद नरहेको नेताहरू बताउँछन्। एमालेसँगको दूरी बढेपछि कांग्रेसले अब नेकपासँग नयाँ समीकरणका लागि संवाद सुरु गरेको छ। यदि नेकपासँग ठोस सहमति हुन नसके सातै प्रदेशमा प्रतिपक्षमा बस्ने कांग्रेसको तयारी छ।
यता, मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयमा पनि कांग्रेसका मन्त्रीहरूबाट आजै राजीनामा आउन सक्ने बुझाइ रहेको छ। मुख्यमन्त्री निकट स्रोतका अनुसार केन्द्रको पछिल्लो राजनीतिक समीकरण र कांग्रेसको आन्तरिक छलफललाई मध्यनजर गर्दै सचिवालयले पनि कांग्रेस मन्त्रीहरूको बहिर्गमनलाई निश्चित जस्तै मानेको छ। कांग्रेस बाहिरिएपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारको भविष्य र नयाँ समीकरणका बारेमा पनि बहस सुरु भएको छ। महामन्त्री घिमिरेले सुदूरपश्चिम र कर्णालीबाट फिर्ता हुने निर्णय भइसकेको बताएकाले कोशीमा पनि आजै मन्त्रीहरूले पदबाट राजीनामा दिने सम्भावना प्रबल छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।