लोड हुँदैछ...

मेनु

कोशीमा रसायनिक मलको चरम अभावः

धानखेतीका लागि ७३ हजार टन डिएपी आवश्यक हुँदा ८०० टन आपूर्ति

धानखेतीका लागि ७३ हजार टन डिएपी आवश्यक हुँदा ८०० टन आपूर्ति

विराटनगर । कोशी प्रदेशमा धान रोपाइँको मुख्य सिजन चलिरहँदा रसायनिक मलको चरम अभाव देखिएको छ । प्रदेशमा धान खेतीका लागि मात्र ७३ हजार मेट्रिक टन डिएपी मलको आवश्यकता पर्ने भएपनि असारको अन्तिम साता बित्न लाग्दा जम्मा ८ हजार ५३९ मेट्रिक टन मात्रै आपूर्ति भएको छ । यस सिजनमा कृषि सामग्री संस्थानले किसानको कुल मागको करिब १२ प्रतिशत मात्रै मल उपलब्ध गराएको हो । यसले यो वर्ष धान खेतीमा रसायनिक मलको प्रयोग नै गर्न नपाउने जस्तो अवस्था सिर्जना भएको हो ।

विशेषगरी धान रोप्ने बेलामै माटो हिल्याउँदा हाल्नुपर्ने डिएपी मलको अभाव सबैभन्दा जटिल देखिएको छ । कोशी प्रदेशमा असार २२ गतेसम्म ३१ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको छ, तर यस अवधिमा किसानले डिएपी भेटाउनै मुस्किल परेको कृषि सामग्री संस्थानको तथ्यांकले पुष्टि गरेको छ । डिएपी नपाएपछि किसानहरूले धान रोपेको २२ दिनपछि मात्र हाल्नुपर्ने युरिया मललाई नै भए पनि हालेर काम चलाउन बाध्य भएका छन् । डिएपीले गोबर मलको काम गर्ने र जरा बलियो बनाउने भए पनि यसको अभावमा बिरुवाको सुरुवाती विकासमै असर पर्ने देखिएको छ ।

कृषि सामग्री संस्थान विराटनगरका प्रमुख कमल पोखरेलका अनुसार कार्यालयलाई माग र आपूर्तिबिच सन्तुलन मिलाउन सकस परिरहेको छ । अन्तर्राष्ट्रिय युद्ध र व्यवधानका कारणले गर्दा आपूर्तिमा ढिलाइ भएको कार्यालयले जनाएको छ ।

संस्थानको तथ्यांक अनुसार कोशी प्रदेशका मुख्य चार केन्द्रहरूबाट हालसम्म (साउनदेखि) ६१ हजार ७०० मेट्रिक टन युरिया, १६ हजार ६०० मेट्रिक टन डिएपी र २ हजार २५० मेट्रिक टन पोटास मात्रै वितरण भएको छ । धान खेतीका लागि दुई पटक गरी ८ हजार टन युरिया र ८०० टन पोटास मात्र वितरण भएको छ । जसमा विराटनगरबाट २ हजार ५६२ टन युरिया र ५६० टन डिएपी वितरण भएको छ भने इटहरीबाट १ हजार २९२ टन युरिया र २२५ टन डिएपी वितरण गरिएको छ । यसैगरी विर्तामोडबाट १ हजार ८६५ टन युरिया र १६५ टन डिएपी तथा गाईघाटबाट ४ सय ५५ टन युरिया र ७ सय १० मेट्रिक टन डिएपी वितरण भएको कार्यालयले जनाएको छ ।

अहिले धान खेतीका लागि मात्र नभई मकैका लागि समेत मलको माग पहिलेको तुलनामा झण्डै दोब्बर बढेको छ । मलको अभावले गर्दा कार्यालयमा किसानहरूको दैनिक भीड लाग्ने गरेको छ । प्रमुख पोखरेल भन्नुहुन्छ, “किसानहरूबाट दैनिक चर्को दबाब झेल्नु परिरहेको छ, असार अन्तिम साउन पहिलो हप्ता भित्रमा थप मल आउँछ भनेर भनिरहेका छौं सायद आइपुग्ला, त्यसो भयो भने फेरि केही दिनमा मल वितरण गर्छौं ।” पछिल्लो समय व्यावसायिक खेती बढेसँगै रसायनिक मलमा निर्भरता बढेका कारण समयमै मल नपाउँदा यस वर्ष धान र मकैको उत्पादनमा समेत ह्रास आउने चिन्ता किसानहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।