इलाम । निरन्तरको वर्षा र कमजोर भौगोलिक संरचनाका कारण मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) क्षेत्रमा सडकको ठूलो भाग भासिएपछि पूर्वी पहाडी जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।
राजमार्ग बन्द भएसँगै इलाम, पाँचथर र ताप्लेजुङलाई झापा तथा तराईसँग जोड्ने प्रमुख यातायात मार्ग ठप्प हुँदा यात्रु, बिरामी, किसान र व्यवसायी प्रभावित भएका छन्।
बिहीबार बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएपछि दुवैतर्फ सयौं सवारी साधन रोकिएका छन्। तराईबाट पहाडतर्फ आउँदै गरेका बस, ट्रक र अन्य सवारी माइखोला बजार क्षेत्रमा रोकिएका छन् भने पहाडबाट झापातर्फ जाँदै गरेका सवारी साधन गोलाखर्क भञ्ज्याङ आसपास अलपत्र परेका छन्।
सडक वारपार गर्न नसक्ने अवस्था बनेपछि यात्रुहरू जोखिम मोलेर हिलो र भासिएको सडक पैदल पार गर्न बाध्य भएका छन्। राजमार्ग अवरुद्ध हुँदा आकस्मिक उपचारका लागि झापा वा विराटनगर रेफर गरिएका बिरामीहरू सबैभन्दा बढी समस्यामा परेका छन्। एम्बुलेन्स सञ्चालन हुन नसक्दा कतिपय बिरामीलाई स्ट्रेचरमा बोकेर सडकको भासिएको भाग पार गराइरहेको स्थानीयले बताएका छन्।
सडक अवरोधले दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित भएको छ। इलाम, पाँचथर र ताप्लेजुङबाट उत्पादन हुने दूध, हरियो तरकारी तथा अन्य छिट्टै बिग्रिने कृषि उपज समयमै बजारसम्म पुर्याउन नसक्दा किसान र व्यवसायीले लाखौं रुपैयाँको क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।
सडक डिभिजन कार्यालय इलामले सडक खुलाउने प्रयास जारी राखेपनि निरन्तरको वर्षा र जमिन थप खस्ने जोखिमका कारण काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन। स्काभेटर र प्राविधिक जनशक्ति परिचालन गरिए पनि सडकको ठूलो भाग खोलातर्फ बगेकाले सामान्य मर्मत गरेर तत्काल सञ्चालनमा ल्याउन सम्भव नभएको कार्यालयले जनाएको छ।
प्राविधिकहरूका अनुसार यो क्षेत्रमा अब पहिरो मात्र पन्छाएर समस्या समाधान हुने अवस्था छैन। खोलाको बगरबाट ग्याबियन पर्खाल निर्माण गरी नयाँ ट्र्याक तयार गरेपछि मात्रै सडकलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने अवस्था रहेको उनीहरूको भनाइ छ।
मुख्य राजमार्ग बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्ने प्रयास भएपनि त्यहाँ पनि समस्या देखिएको छ। बेलासे–इलाम सडक हुँदै मेची करिडोर प्रयोग गर्न खोजिए पनि पुवाखोलामा पुल नहुँदा मालवाहक ट्रक तथा ठूला बस सञ्चालन हुन सकेका छैनन्।
स्थानीय प्रशासन र प्रहरीको समन्वयमा सिमल गोलाई–तिल्किने ग्रामीण सडकमार्फत जिप, ट्याक्सी लगायत साना सवारी साधनलाई सीमित रूपमा सञ्चालन गरिएको छ । सडक साँघुरो, हिलाम्मे र जोखिमपूर्ण भएकाले यात्रा सहज भने छैन।
पूर्वी पहाडको ‘लाइफलाइन’ मानिने मेची राजमार्ग अवरुद्ध भएपछि दैनिक जनजीवन, स्वास्थ्य सेवा, व्यापार, पर्यटन र ढुवानी प्रणालीमा असर परेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।