विराटनगर । झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने लक्ष्मी मार्ग निर्माणमा लामो समयसम्म ढिलाइ भएपछि आक्रोशित स्थानीय बासिन्दाले सडकमै धान रोपेर विरोध जनाएका छन्। झापा गाउँपालिका क्षेत्रमा पर्ने उक्त सडक खण्ड निर्माणका लागि वर्षौंदेखि माग गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेपछि स्थानीयले हिलाम्मे सडकमै धान रोपेर साङ्केतिक प्रदर्शन गरेका हुन्।
विशेष गरी गाउँपालिकाको सिमलबारी र कुवाडी खण्डमा सडकको अवस्था दयनीय बनेको छ। वर्षायाममा सडक पूर्ण रूपमा हिलाम्मे भएर आवतजावत गर्नै नसकिने अवस्था सिर्जना भएपछि नागरिकहरू सडकमै उत्रिएका हुन्। पटक–पटक सडक बनाउन आग्रह गर्दा समेत सुनुवाइ नभएपछि सरकार र निर्माण पक्षको ध्यानाकर्षण गराउन बाध्य भएर सडकलाई नै खेतका रूपमा प्रयोग गरी विरोध जनाउनु परेको स्थानीयको भनाइ छ।
नागरिक तहबाट भएको यो विरोधले सडक पूर्वाधारको कन्तबिजोगलाई उजागर गरेको छ। स्थानीयवासीले लक्ष्मी मार्गको निर्माण कार्य तत्काल अघि बढाउन र दैनिक सास्तीबाट मुक्ति दिन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। समयमै सडक नबन्दा सो क्षेत्रका बासिन्दाले बर्खाको समयमा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।