विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई विभिन्न प्रलोभन र गलत सूचना दिएर निजी अस्पताल पुर्याउने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिष्ठानको इमर्जेन्सी र ओपीडी सेवामा आएका बिरामी तथा आफन्तलाई सरकारीमा उपचार राम्रो नहुने भ्रम छर्दै निजी अस्पताल जान प्रोत्साहित गर्ने गिरोहलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज नगरपालिका–६ की २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोकका ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल र मोरङ लेटाङका २९ वर्षीय सान्विन किराती रहेका छन् । यस्तै, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इनरुवा–२ का ३१ वर्षीय रोहित मेहता र धरान–११ का १८ वर्षीय विनोद भट्टराई पनि पक्राउ परेका सुनसरी प्रहरीका प्रवक्ता चन्द्र बहादुर खड्काले जानकारी दिए ।
यसअघि मंगलबार प्रहरीले झापा दमकका ४२ वर्षीय प्रवीण पोखरेल र सुनसरी हरिनगराका २७ वर्षीय दीपक रामलाई नियन्त्रणमा लिएको थियो ।
यसरी गर्थे ठगी
प्रहरीका अनुसार बिचौलियाहरूले प्रतिष्ठानका विभिन्न वार्ड, ओपीडी, इमर्जेन्सी कक्ष, रेडियोलोजी र ल्याबमा कुरेर बस्ने गरेका थिए । उनीहरूले उपचारका लागि टाढा–टाढाबाट आएका सोझा–सिधा बिरामीलाई लक्षित गरी ‘यहाँ मेसिन बिग्रिएको छ, डाक्टर छैनन्, पालो आउन हप्तौँ लाग्छ’ भन्दै डराउने गरेको पाइएको छ ।
त्यसपछि उनीहरूले विराटनगर र बिर्तामोडका निजी अस्पतालमा तत्काल उपचार हुने भन्दै बिरामीलाई ललाई–फकाई निजी अस्पताल, नर्सिङ होम वा डायग्नोस्टिक क्लिनिकतर्फ पठाउने र मोटो कमिसन लिने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका प्रवीण पोखरेल र दीपक रामको साथबाट प्रहरीले विराटनगरस्थित विभिन्न हस्पिटलको भिजिटिङ कार्डहरू फेला पारेको छ । उनीहरूको मोबाइलमा विभिन्न सरकारी अस्पतालका प्रेस्क्रिप्सन, डिस्चार्ज पेपरका तस्बिर, बिरामीको गोप्य विवरण र एम्बुलेन्स चालकहरूको सम्पर्क नम्बरसमेत भेटिएको छ । यसले उनीहरूले संगठित गिरोहकै रूपमा एम्बुलेन्स चालक र निजी अस्पतालका प्रतिनिधिहरूसँग साँठगाँठ गरी काम गरिरहेको पुष्टि गर्छ ।
सुनसरीका डिएसपी खड्काका अनुसार पोखरेल र रामविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बुधबार पक्राउ परेका अन्य १० जनालाई भने इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
बीपी प्रतिष्ठानमा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लाबाट दैनिक दुई हजार बढी बिरामी उपचारका लागि आउने गर्छन् ।चिकित्सकले रिफर गर्नुपर्ने बिरामीलाई बिचौलियाले बीचबाटै अर्कै अस्पताल लैजाँदा प्रतिष्ठानले ठूलो राजस्व गुमाउनुपरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।