लोड हुँदैछ...

मेनु

बीपी प्रतिष्ठानबाट पक्राउ परेका बिचौलियालाई ७ दिन म्याद थप

बीपी प्रतिष्ठानबाट पक्राउ परेका बिचौलियालाई ७ दिन म्याद थप

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी मेडिकल तथा औषधि पसलतर्फ पठाएर बिचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ परेका १० जनामाथि ७ दिनको म्याद थप भएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले ७ दिनको म्याद दिएको हो ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बबिन राईका अनुसार म्याद थप गरिएकामध्ये धरान–१८ का २७ वर्षीय निखिलकुमार चौधरी, सप्तरीको राजविराज–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुरको आमचोक गाउँपालिका–८ का २५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ–३ का २९ वर्षीय सानिन किराँती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी–५ का ४० वर्षीय उपेश कुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरज निरौला, इटहरी–२ का ३१ वर्षीय रोहित मेहता र धरान–११ का २८ वर्षीय विनोद भट्टराई रहेका छन्।

उनीहरूलाई बुधबार राति प्रतिष्ठान परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार बिरामी र तिनका आफन्तलाई निजी मेडिकल तथा औषधि पसलबाट औषधि खरिद गर्न प्रलोभन देखाउँदै कमिसनको आधारमा बिचौलियाको काम गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

यसअघि पनि प्रहरीले बीपी प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट झापाको दमक–१ का ४३ वर्षीय प्रवीण पोखरेल र सुनसरीको हरिनगर–४ का २७ वर्षीय दीपक रामलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूविरुद्ध पनि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

यता पक्राउको विरोधमा धरानस्थित बीपी प्रतिष्ठान परिसरमा सञ्चालित करिब २०० वटा औषधि पसल बिहीबार बिहान बन्द गरिएका थिए। औषधि व्यवसायीहरूले इलाका प्रहरी कार्यालय धरानअगाडि धर्ना दिँदै पक्राउ परेका सहकर्मीहरूलाई रिहा गर्न माग गरेका थिए। उनीहरूले पक्राउ परेकाहरू रिहा नभएसम्म मेडिकल पसल बन्द राख्ने चेतावनीसमेत दिएका थिए।

तर, अति आवश्यक सेवा ऐन र मेडिकल व्यवसायसम्बन्धी आचारसंहितालाई ध्यानमा राख्दै बिरामीको उपचारमा असर नपरोस् भन्ने उद्देश्यले दिउँसोदेखि सबै औषधि पसल पुनः सञ्चालनमा ल्याइएको व्यवसायीहरूले बताएका छन्। औषधि व्यवसायीहरूले भने प्रारम्भिक रूपमा पक्राउ परेका प्रवीण पोखरेल र दीपक राम आफ्नो व्यवसायसँग सम्बन्धित व्यक्ति नभएको दाबी गरेका छन्।

प्रहरीले भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा लामो समयदेखि बिरामीलाई विभिन्न बहानामा निजी अस्पताल, मेडिकल र डायग्नोस्टिक सेन्टरतर्फ पठाएर कमिसन लिने गिरोह सक्रिय रहेको सूचनाका आधारमा निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।