काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले अवलम्बन गरिरहेको परराष्ट्र नीतिप्रति गम्भीर आशंका व्यक्त गर्दै सरकारलाई कडा चेतावनी दिएका छन् । नेपालले लामो समयदेखि अपनाउँदै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति बाट सरकार विचलित हुन खोजेको नेता श्रेष्ठको आरोप छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले हालै नेपालमा तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा मनाइनु र त्यसमा पश्चिमा कूटनीतिज्ञहरूको बाक्लो उपस्थिति हुनुलाई सामान्य घटना मान्न नसकिने बताएका छन् । उनले यसलाई नेपालको परराष्ट्र नीतिमा देखिएको गम्भीर विचलनको संकेतका रूपमा अर्थ्याएका छन् ।
नेता श्रेष्ठले दलाई लामा र उनको कथित सरकारका तर्फबाट सुशीला कार्की नेतृत्वको तत्कालीन अन्तरिम सरकार र वर्तमान बालेन शाह नेतृत्वको स्थानीय सरकारसम्म आएका बधाई तथा सन्देशहरूलाई लिएर समेत आशंका व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा पनि भइरहेका छन् । यस बीचमा सरकारको अनुमतिमा जन्मोत्सव मनाइनुले सरकार परराष्ट्र नीतिमा गम्भीर विचलनतर्फ उन्मुख भएको पुष्टि गर्छ ।’
पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले सरकारले असंलग्न परराष्ट्र नीतिलाई केवल औपचारिकतामा मात्र सीमित राखेको र व्यवहारमा भने कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्न लागिपरेको दाबी गरेका छन् । यस्ता गतिविधिले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई गम्भीर जोखिम र संकटमा धकेल्ने उनको ठहर छ ।
‘नेपालको स्वतन्त्रता र असंलग्नतामाथि आँच आउने गरी कुनै शक्ति राष्ट्रको स्वार्थमा अघि बढ्नु देशभक्त नेपालीलाई किमार्थ स्वीकार्य हुनेछैन,’श्रेष्ठले चेतावनी दिँदै भनेका छन्, ‘त्यस्तो अवस्थामा सशक्त प्रतिरोध अनिवार्य हुनेछ ।
उनले सरकारलाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता विरुद्ध हुने कुनै पनि गतिविधि नगर्न र मुलुकको परराष्ट्र नीतिलाई सन्तुलित र असंलग्न राख्न कडा आग्रह गरेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।