विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रेस रजिष्ट्रार नियुक्तिको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै दरखास्त दिएका उम्मेदवारहरूमध्ये नौ जनालाई भोलि शुक्रबार अन्तर्वार्ताका लागि आह्वान गरेको हो।
कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा ४ बमोजिम प्रेस रजिष्ट्रार नियुक्त गर्न गठित सिफारिस समितिको निर्णयअनुसार अन्तर्वार्ताको मिति र स्थान तय गरिएको छ। जसअनुसार भोलि असार २६ गते शुक्रबार बिहान ११ बजे आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरमा अन्तर्वार्ता परीक्षा सञ्चालन हुनेछ।
रजिष्ट्रार पदका लागि आवेदन दिने प्रतिस्पर्धीहरूमा इनरुवा–४, सुनसरीका शशी कोइराला, धरान–१५, सुनसरीका देवेन्द्र कार्की, इटहरी, सुनसरीका लिलाराज भट्टराई, बिर्तामोड–४, झापाका गोपाल काफ्ले र विराटनगर, मोरङका नेत्र प्रसाद अधिकारी रहेका छन्। त्यसैगरी आठराई–६, तेह्रथुमका अमृत कुमार बास्तोला, बिर्तामोड–३, झापाका गणेशमान मुखिया, सुनसरीका प्रभाव चन्द्र झा र इनरुवा–६, सुनसरीका बन्धु पोखरेल पनि छनोट प्रक्रियामा सहभागी हुनेछन्।
अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारहरूले अनिवार्य रूपमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्रहरू र अनुभवका कागजातहरूको सक्कल प्रति साथमा ल्याउनुपर्ने मन्त्रालयले जनाएको छ। यो नियुक्तिसँगै कोशी प्रदेश आमसञ्चार प्रतिष्ठानको प्रशासनिक तथा नियमनकारी कार्यले गति लिने अपेक्षा गरिएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।