विराटनगर । ठगी तथा आपराधिक विश्वासघातको सञ्जाल चलाएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका विराटनगरका अभिषेक गिरीले आफ्नी श्रीमतीको नाममा विभिन्न ठाउँमा जग्गा खरिद गरेको भेटिएको छ ।
निर्माण व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी पु¥याएको र ज्यान मार्ने धम्की दिएर काठमाडौँको घरजग्गा राजीनामा गराएको गम्भीर आरोप खेपिरहेका गिरीले आफ्नी श्रीमती सोनु आचार्यको नाममा विभिन्न जिल्लाहरूमा जग्गा जमिन जोडेको तथ्य भेटिएको हो ।
गिरीलाई काठमाडौँ जिल्ला अदालतबाट मंगलबार तीन दिन म्याद थप गरी सिआइबीले अनुसन्धान अगाडि बढाइरहेको छ । यससँगै मोरङ प्रहरीले पनि उनको परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको स्रोतमाथि अनुसन्धान गरिरहेको छ । स्रोतले दिएको जानकारी अनुसार गिरीले २०८२ साल एक वर्षभित्रै काठमाडौंको बुढानिलकण्ठदेखि धनकुटा र मोरङका विभिन्न ८ ठाउँमा श्रीमती सोनुको नाममा जग्गा खरिद गरेका छन् । यस्तै उनले बैंकबाट लिलाम हुन लागेको मोरङ बबियाविर्ताको चार कित्ताको २ विगाहा १६ कठ्ठा जग्गा २०८२ साल असोज २७ गते एकै दिन पास गराएका छन् ।
विराटनगर ८ मधुमराका ४८ वर्षीय अभिषेक गिरीलाई निर्माण व्यवसायी तथा सुभाष श्रेष्ठले दिएको जाहेरी दरखास्तका आधारमा सोमबार पक्राउ गरी काठमाडौं लगेको थियो । गिरीले बुढानिलकण्ठमा रहेको श्रेष्ठकै जग्गा खरिद गर्ने क्रममा घर जग्गै पास गराएको प्रहरीको दाबी छ । ‘उनलाई साढे ४ करोड पर्ने घर जग्गा नै गिरीले १८ लाख दिएर पास गर्न दबाब दिएछन्,’ प्रहरी स्रोतले भन्यो ।
कहाँ कहाँ छन् जग्गा ?
प्रहरीले गिरीले उनकी श्रीमती सोनु आचार्यको नाममा जग्गा खरिद तथा दर्ता गरेको समय तालिका भने २०८० देखि २०८२ को अवधिमै ९ ठाउँमा जग्गा जोडेको देखिएको छ । काठमाडौँको बुढानीलकण्ठ क्षेत्र अति महँगो र सुविधायुक्त क्षेत्र मानिन्छ । मालपोत कार्यालयको अभिलेख अनुसार काठमाडौँको साविक विष्णु गाविस हाल बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा अवस्थित कित्ता नम्बर १०३९ को २१७.०१ वर्गमिटर क्षेत्रफलमा फैलिएको घर र जग्गा सोनु आचार्यको नाममा एकलौटी स्वामित्व रहने गरी दर्ता भएको छ ।
वि.सं. २०८२ साल कार्तिक २८ गते राजीनामा लिखत पारित गरी यो घरजग्गा आचार्यको नाममा सारिएको देखिन्छ । यस्तै मोरङको साविक कटहरी गाविस हाल कटहरी गाउँपालिका वडा नम्बर ४ मा रहेको साविक कित्ता नम्बर १९२ को कुल १८२२.३७ वर्गमिटर क्षेत्रफल भएको जग्गा सोनु आचार्यको नाममा वि.सं. २०८० साल मंसिर २५ गते दर्ता भएको छ । आवासीय प्रयोजनको यो ठूलो जग्गा खरिद गर्न प्रयोग गरिएको आर्थिक स्रोतको वैधतामाथि अहिले प्रश्न उठेको छ ।
यसैगरी मोरङकै बबियाविर्ता वडा नम्बर ३ मा रहेको कित्ता नम्बर ३७९ को ४६५५.५२ वर्गमिटर जग्गा वि.सं. २०८२ साल असोज २७ गते सोनु आचार्यको नाममा नामसारी भएको छ । सोही वडामा रहेका कित्ता नम्बर १०८, १११, १०५, र १०६ का अन्य जग्गाहरू पनि आचार्यको नाममा दर्ता छन् । यी जग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूबाट तेस्रो पक्षले लिलाम सकार गरेपछि दाखेल खारेज प्रक्रिया मार्फत सोनु आचार्यको नाममा ल्याइएका हुन् । यसरी बैंकको लिलामी प्रक्रियामा सहभागी भई करोडौँ मूल्य बराबरका जग्गाहरू एकलौटी स्वामित्वमा ल्याउनका लागि आचार्यसँग कुन व्यवसाय वा स्रोतबाट रकम प्राप्त भयो भन्ने कुरा स्पष्ट छैन ।
मोरङकै विराटनगर उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित कित्ता नम्बर ६५८२ को ३३६.६३ वर्गमिटर क्षेत्रफल भएको अर्को जग्गा पनि वि.सं. २०८२ साल चैत १९ गते राजीनामा लिखत पारित गरी सोनु आचार्यको स्वामित्वमा ल्याइएको छ । यसका अतिरिक्त धनकुटा जिल्लाको साविक कार्कीछाप हाल धनकुटा नगरपालिका वडा नम्बर ५ मा रहेको कित्ता नम्बर १२६३ को ५६२.४० वर्गमिटर क्षेत्रफल भएको व्यावसायिक जग्गा पनि सोनु आचार्यकै नाममा दर्ता छ । वि.सं. २०८२ साल साउन २१ गते यो जग्गा पनि राजीनामा लिखत मार्फत खरिद गरिएको हो । यी सबै जग्गाहरूको कुल क्षेत्रफल जोड्दा हजारौँ वर्गमिटर हुन आउँछ । जसको चलनचल्तीको बजार मूल्य करोडौँ रुपैयाँ हुने सुरक्षास्रोत दाबी गर्छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।