लोड हुँदैछ...

मेनु

गाँजा नियन्त्रण लिने क्रममा मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता

गाँजा नियन्त्रण लिने क्रममा मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता


विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित पोखरीमा डुबेर एक युवक बेपत्ता भएका छन् । गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका विराटनगर–१८ का मञ्जितकुमार यादव प्रहरीबाट बच्न भाग्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा चालक मञ्जित मोटरसाइकल छाडेर भागेका थिए । भाग्ने क्रममा उनी नजिकैको पोखरीमा पसेको र त्यसपछि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
‘हामीले उनी पोखरीमा डुबेको प्रत्यक्ष देखेका होइनौँ, तर स्थानीय बासिन्दाले डुबेको देखेको बताएपछि खोजी कार्य तीव्र पारिएको छ,’ डीएसपी श्रेष्ठले भने । बेपत्ता यादवको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।


सोही मोटरसाइकलको पछाडि सवार रहेका एक भारतीय नागरिकलाई भने प्रहरीले गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादव रहेका छन् । उनको साथबाट ६ किलो १३० ग्राम गाँजा बरामद भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।


प्रहरीले बरामद गरेको गाँजा र मोटरसाइकलसहित पक्राउ परेका शिवधरलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाएको छ । बेपत्ता मञ्जितकुमार यादवको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।