लोड हुँदैछ...

मेनु

भोलि देखि उपसभामुख सम्मेलन

भोलि देखि उपसभामुख सम्मेलन

विराटनगर । उपसभामुख र उपाध्यक्षहरूको संवैधानिक भूमिकालाई थप प्रभावकारी, जिम्मेवार र ओझपूर्ण बनाउने उद्देश्यका साथ बिहीबारदेखि झापाको बिर्तामोडमा दुई दिने उपसभामुख सम्मेलन आयोजना गरिँदैछ । कोशी प्रदेश सभाको आयोजनामा हुन लागेको यस सम्मेलनमा सातै प्रदेशका उपसभामुख, प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षको सहभागिता रहने कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले जानकारी दिइन् ।

बिर्तामोडस्थित सिद्धार्थ होटलमा आयोजना हुने यस सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।

सम्मेलनको मुख्य एजेन्डा उपसभामुख र उपाध्यक्षको पदलाई कसरी थप सक्रिय र प्रभावकारी बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहनेछ । उपसभामुख दनुवारका अनुसार सम्मेलनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र सातै प्रदेशका उपसभामुखहरूबीच कार्य अनुभव आदानप्रदान हुनेछ । ‘विशेष गरी उपसभामुखको पदलाई कसरी थप सक्रिय र ओझपूर्ण बनाउन सकिन्छ भन्नेमा हाम्रो गहन छलफल हुनेछ,’ उनले भनिन

सम्मेलनमा संघीयता र संसदीय मामिलाका विज्ञहरूबाट कार्यपत्र समेत प्रस्तुत हुनेछन् । प्राप्त जानकारी अनुसार डा. खिमलाल देवकोटा र पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सम्मेलनमा कार्यपत्र पेश गर्ने तालिका छ । डा.देवकोटाको स्वास्थ्यमा केही समस्या देखिएकाले उनको विकल्पमा अर्को व्यवस्था हुन सक्ने भए पनि विषयगत छलफल भने निरन्तर रहने आयोजकले जनाएको छ ।

गत वर्ष मधेस प्रदेशले धनुषामा यस्तै सम्मेलन आयोजना गरेको थियो, जसले ५ बुँदे घोषणापत्र जारी गरेको थियो । अघिल्लो सम्मेलनले संघीयता कार्यान्वयनका लागि लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै भएको निष्कर्ष निकाल्दै संघीयता अनुकूलका कानुन निर्माण, संसदीय बजेट र संवैधानिक अभ्यासमा जोड दिएको थियो ।

यस पटकको सम्मेलनले उपसभामुखहरूको भूमिका स्पष्ट नभएको जनगुनासो र व्यवहारिक कठिनाइहरूलाई चिर्दै विगतका बाँकी प्रतिबद्धताहरू कार्यान्वयन गर्ने नयाँ मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलनले शुक्रबार घोषणापत्र जारी गर्दै समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।