लोड हुँदैछ...

मेनु

सप्तकोशीमा तैरिरहेको ३०८ किलो गाँजा बरामद

सप्तकोशीमा तैरिरहेको ३०८ किलो गाँजा बरामद

विराटनगर । सुनसरी प्रहरीले सप्तकोशी नदीमा तैरिरहेको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

भारततर्फ तस्करीका लागि नदीमार्फत पठाइएको आशंकासहित प्रहरीले ३०८ किलो गाँजा बरामद गर्दै यसको ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहान करिब १ः३० बजे कोशी गाउँपालिका–७ स्थित केराबारी र भण्टाबारीबीचको सप्तकोशी नदीको बाँधनजिक नियमित गस्तीका क्रममा गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले नदीको किनार नजिक पानीमा तैरिरहेका आठ वटा कालो प्लास्टिकले बेरिएका शंकास्पद पोका देखेपछि नियन्त्रणमा लिएको थियो।

पोका खोलेर जाँच गर्दा भित्र ठूलो परिमाणमा गाँजा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। बरामद गरिएको गाँजाको कुल तौल ३०८ किलो रहेको प्रहरीले जनाएको छ।

गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा सुरक्षित राखिएको छ। सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेका अनुसार गाँजा नदीमार्फत भारततर्फ तस्करी गर्ने उद्देश्यले पठाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उनले गाँजा कसले, कहाँबाट र कसरी नदीमा ल्यायो भन्ने विषय अझै खुल्न बाँकी रहेको बताए।

नेपाल–भारत खुला सीमाका कारण पछिल्ला वर्षहरूमा नदी मार्ग प्रयोग गरी लागूऔषध ओसारपसार गर्ने प्रयास बढ्दै गएको प्रहरीको विश्लेषण छ। विशेषगरी कोशी नदी क्षेत्र तस्करहरूले प्रयोग गर्न सक्ने सम्भावित मार्गका रूपमा सुरक्षाकर्मीको निगरानीमा रहने गरेको छ।

प्रहरीले बरामद गाँजाको स्रोत, ढुवानीमा प्रयोग गरिएको सम्भावित सञ्जाल र भारततर्फ लैजान खोजिएको उद्देश्यबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। अहिले घटनासँग सम्बन्धित व्यक्तिको पहिचान र पक्राउका लागि सीमावर्ती क्षेत्र तथा सम्भावित मार्गहरूमा निगरानीसमेत कडा पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।